काठमाडौं । पाँच दिने नेपाल भ्रमणमा आएका चिनियाँ जनमुक्ति सेनाको तिब्बेत मिलिटरी कमाण्डका मेजर जनरल यूए आन्दले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ । सैन्य मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाको मुख्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमार्फत् मेजर जनरल युए आन्दको नेतृत्वमा ८ सदस्यीय बोर्डर डिफेन्स डेलिगेसन टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागरबहादुर थापाले स्वागत गरेको जानकारी गराइएको छ । पाँच दिने नेपाल बसाइमा उक्त टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक संग्राहालय लगायतका सैनिक इकाइहरुका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवम् पर्यटकीय स्थलहरुको भ्रमण गर्ने पनि नेपाली सेनाले जानकारी दिएको छ ।
आज जारी गरेको विज्ञप्तिमा यस किसिमको भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको उल्लेख गरिएको छ ।


