वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
अनलाइन ठगीमा ९ चिनियाँसहित १९ पक्राउ
Prabhu Bank AD

काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिई अनलाइन ठगी गरेको आरोपमा प्रहरीले ९ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । ‘ह्वाट्स एप’ मा विभिन्न व्यक्तिसँग कुरा गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुन्छ भनी ‘टेलिग्राम’ मा ‘अप्रेसन टिचर’ नामक च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरेर ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं बुढानीलकण्ठ–२ महादेवखोला र काठमाडौं महानगर–४ चण्डोलबाट उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए । प्रहरीका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू हुआङ ह्वाङरुङ्ग, सी फुस्याङ्ग, लान जेङ्गवेई, सीई गुई, सीई सुवाङ डी, ग्वा मिङ्ग, इच्यू पीङ भिङ, सान डार्लिन र लि जिआन होङ छन् । अनलाइन ठगीको आरोपमा १० नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा शैलुङ–३ का बुद्धिराज श्रेष्ठ, नुवाकोट शिवपुरी–५ का इन्द्र तामाङ, राजकुमार लामा, बुढानिलकण्ठ–२ चपलीका प्रयास भण्डारी, दोलखा बैतेश्वर–२ का अर्जुन श्रेष्ठ, रामेछाप उमाकुण्ड–४ का रविना सुनुवार, लमजुङ दुधपोखरी–६ की सुनिता गुरुङ, मकवानपुर हेटौंडा–८ की जमुना गोले, उदयपुर गाईघाटकी अनिता मगर र गोरखा चुमनुब्रीकी अनु गुरुङ छन् ।

प्रहरीले उनीहरुको साथबाट ल्यापटप १२ थान, मोबाइल सेट ७७ थान, सिम कार्ड ७४ थान, राहदानी ६ थान, डेस्कटप २, राउटर ४ र नगद ४ लाख १ हजार ८ सय ८० रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई ठगीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको एसपी राठौरले जानकारी दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर