धनगढी। नेकपा एमालेका उपाध्यक्ष एवम् नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको गठबन्धन पाँच वर्षसम्म जाने दाबी गरेका छन् ।
नेकपा एमालेको ग्राउन्डरुट अभियान अन्तर्गत धनगढीमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले राष्ट्र निर्माणका लागि अहिलेकै गठबन्धन अघि बढाईने बताएका हुन् । उनले अहिलेको गठबन्धननै राष्ट्रको आवश्यकता रहेकाले यहि गठबन्धन टिकाउने गरि अघि बढाउन जरूरी रहेको बताए ।
उपाध्यक्ष पौडेलले सञ्चारमाध्यमलाई हल्लाका पछि लागेर समाचार नबनाउन अनुरोध गरे । उनले राष्ट्रपति निर्वाचनमा सहमति अनुसारनै अघि बढ्ने भन्दै छिट्टै पार्टीले उम्मेदवारको पनि टुङ्गो लगाउने बताए ।
राष्ट्रपतिमा मात्रै नभएर देशको आर्थिक विकासमा पनि राष्ट्रिय सहमति आवश्यक हुने उनको भनाइ छ । त्यस्तै कैलाली उद्योग वाणिज्य सङ्घले अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।
उद्योगी व्यवसायीहरू मारमा परिरहेको र उनीहरुको समस्या समाधान गर्न माग गर्दै आज उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष पुष्प कुवरले मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।
आफ्नै कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले पछिल्लो समय व्यवसायीहरू मारमा परेकोबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए । उनले बैङ्कले बढाएको ब्याजदर घटाउनुपर्ने र किस्ता समय पनि हेरफेर गर्नु पर्ने माग अर्थमन्त्रीलाई राखे ।
मन्त्री पौडेलले सरकार व्यवसायीहरूको समस्या समाधान गर्न लागि परेको बताएका थिए ।

