काठमाडौं । काठमाडौं महानगर वडा नं १० का भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुले ताहाचल पुगेर भूमि समस्या समाधान समितिका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन् ।
सोमबार अपहरान्ह ताहाचल पुगेका उनीहरुले आफूहरु जोखिम मुक्त क्षेत्रमा बसोबास गर्दै आएकोले डोजर लगाएर विस्थापित गरेकै स्थानमा क्षतिपूर्तिसहित स्थायी बसोबासको प्रबन्ध मिलाउन जोडदार माग गरेका छन् । उनीहरुले यसअघि तत्कालीन भूमि आयोगले अन्तिम पटकका लागि भनेर निकालिएको सूचनाको आधारमा वडा नं १० का शंखमूल, देवीनगर र शान्ति बिनायक टोलका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले लगत संकलन गरेर वडा कार्यालयमा बुझाइसकिएको र वडाले त्यसको प्रमाणिकरण समेत गरिसकेको अवस्थामा सोही लगतलाई सदर गर्न आग्रह समेत गरेका थिए ।

जवाफमा समितिका अध्यक्ष बलभद्र बास्कोटाले वडामा भरिएको लगतलाई समितिको लगतमा प्रविष्ट गर्ने गरी प्रक्रिया अगाडि बढाउन वडा कार्यालयलाई आग्रह गर्न सुझाब दिएका थिए । र, लगत संकलन गर्न छुटेका वडाहरुको गुनासो आएमा समितिले नयाँ सूचना जारी गर्न सक्ने पनि जानकारी दिए । समितिका अध्यक्ष बास्कोटाले असार मसान्तभित्र लगत संकलन गरिसक्ने गरी काम अगाडि बढाइएकोले लगत संकलनमा छुटेकाहरुको गुनासो आएमा त्यसको तत्काल सुनुवाइ गरिने पनि बताए ।
उनले प्रचलित भूमि ऐन, कानून, संविधान, नियमावली, कार्यविधिमा टेकेर संकलित लगतको छानबिन गरी कसलाई दिन मिल्ने, कसलाई दिन नमिल्ने कानुन बमोजिम निक्र्यौल गरिने जानकारी दिए । उनले आफूहरुलाई दिइएको ५ सय दिनको अवधिभित्र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न पहल गर्ने बताए ।
नेपाल बसोबासका महासचिव राजु तामांगको नेतृत्वमा तीनवटै बस्तीका अगुवाहरुको एक टोलीले वडा कार्यालयमा बुझाएको प्रमाणित फारमका प्रतिलिपिहरुसहित समितिका पदाधिकारीहरुलाई जानकारी गराएको थियो । समितिका पदाधिकारीहरुबाट बाहिरिदै पीडितहरुले अब चाँडै वडा अध्यक्षलाई भेटेर वडामा भएको लगत महानगर हुँदै जिल्लामार्फत् समितिको कार्यालयमा पुर्याउने गरी प्रक्रिया अगािड बढाउन आग्रह गर्ने बताएका छन् ।

