काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नव नियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ आइतबार चारदिने नेपाल भ्रमणमा आउन लागेका छन् । लिउको नेपाल भ्रमणबारे सरकारी स्रोतले पुष्टि गरेको छ ।
यस बारे नेपालस्थित चिनियाँ राजदूतावासले भने आफूलाई पार्टीको तर्फबाट हुने भ्रमणबारे जानकारी नभएको उल्लेख गरेको छ ।
विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केहि दिन अघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेको थियो । यस्तै, लिउले असार १६ मा कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेका थिए ।
नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । त्यसैलाई मध्यनजर गरेर लिउले आसन्न नेपाल भ्रमणका दौरानमा कांग्रेस, एमाले, माओवादी, नेकपा एसका नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम छ ।
नेपालमा फेरि आम निर्वाचनको तयारी चलिरहेको र नेपालमा ठूला कम्युनिस्ट पार्टीहरूबीच एकताको लागि सदासयता व्यक्त गर्ने र सत्तारूढ कांग्रेससँग सम्बन्ध सुधार गर्ने रणनीति चीनले लिएको चर्चा भइरहेका बेला विदेश विभागको जिम्मेवारी सम्हालेपछि लिउले पहिलो पटक मुलुक बाहिरको यात्रामा नेपाल रोजेका हुन् ।
निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट हुन लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । २०७४ मा निर्वाचन हुनु अघि एमाले र माओवादी केन्द्रलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि नेकपा बन्नको लागि चिनियाँ पक्षले खुलेर भूमिका खेलेको कुटनीतिक बृत्तमा अहिले पनि चर्चा हुने गरेको छ । तर चिनियाँ पक्षको सहयोग र सद्भावबीच नेकपा कम्युनिष्ट नेतृत्वको सरकार ढलेको अवस्थामा चीनका उच्च अधिकारीको भ्रमण हुन लागेको हो ।
२०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर जानुपर्छ भन्नेमा चीन पनि थियो । ती दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएर नेकपा बन्ने सन्दर्भमा चीनले ‘सहजीकरण’ को भूमिका खलेको दाबी गरिँदै आएको छ । नेकपाको झन्डै दुई तिहाइको सरकार रहेकै बेला २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए, जुन चीनबाट राष्ट्रपति स्तरमा भएको २३ वर्षपछिको भ्रमण थियो ।
तत्कालीन नेकपा विवाद चुलिएर विभाजनतिर उन्मुख भइरहँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ओली र दाहालका साथै वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई पटक–पटक भेटेकी थिइन् । उनको जोड एकतामै थियो । तर २०७७ पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विकसित घटनाक्रमले नेकपा छिन्नभिन्न भयो । अहिले ओलीले एमाले, दाहालले माओवादी केन्द्र र नेपालले एकीकृत समाजवादीको नेतृत्व गरिरहेका छन् । एमाले सत्ताबाहिर छ भने सत्ताको नेतृत्वमा कांग्रेस छ ।
बदलिँदो राजनीतिक परिस्थितिकै कारण चार सदस्यीय विशेष टोलीको नेतृत्व गर्दै २०७७ पुसको दोस्रो साता काठमाडौं आइपुगेका सीपीसी विदेश विभागका तत्कालीन उपप्रमुख कुओ येचौले कम्युनिस्ट नेताहरूलाई भेटेका थिए। त्यस बेला बुढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग पनि संवाद गरेका थिए ।

