काठमाडौँ । आर्थिक वर्ष २०८२ र ८३ को पहिलो दिन तथा साताको अन्तिम दिन बिहीबार सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक ७९।८२ अङ्कले बढेर २८ सय ७४ दशमलव ६० विन्दुमा पुगेको हो ।
आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा ९ कम्पनीको सेयर मूल्य घटेका छन् । दिनभरमा ३११ स्क्रिवका ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बुटवल पावर कम्पनीको ६० करोड, राधी विद्युत कम्पनीको ५६ करोड, सानिमा माइ हाइड्रोको ४२ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँको कारोबार भएको छ । ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रो कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा उछाल आउनुमा आज अन्य समूहको प्रमुख योगदान रह्यो ।
उक्त समूह ५।०९ प्रतिशतले बढ्दा हाइड्रोपावर, इन्भेष्टमेन्ट र जीवन बीमा क्षेत्रमा ३ प्रतिशत भन्दा माथिको वृद्धि भएको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०।०४ प्रतिशत मात्रै बढेको छ ।

