काठमाडौँ । नक्कली भारतीय नोट प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको हो ।
ललितपुरको नख्खुस्थित कारागारमा रहेका उनी ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्दै छन् । कैद सजाय पूरा गरी रिहा हुने भएपछि सीआईबीले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार पत्र पठाएको छ । सोही पत्रका आधारमा कारागारबाट रिहा भएलगत्तै अन्सारीलाई सीआईबीले नियन्त्रणमा लिने तयारी छ ।
अन्सारी पहिलो पटक २०६६ पुस १३ मा २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । त्यतिबेला उनी न्युज नेपाल नेसनल टेलिभिजनका अध्यक्ष थिए । २०६७ असोज ६ मा बरामद भएको ४० लाख ९१ हजार जाली नोटमा समेत उनी मुछिएका थिए । तेस्रो पटक २०७० माघ १० मा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेर सजाय भुक्तान गरी छुटेका उनी २०७६ जेठ १० मा ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
पछिल्लो पटक पक्राउपछि अदालतले उनलाई ६ वर्ष कैद र ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएपछि कारागार पठाइएका थिए । उनको कैदमुक्त हुने अवधि २०८२ जेठ १० सम्म रहेको छ ।

