काठमाडौँ । काठमाडौं महानगरपालिका –२४ मखनटोलस्थित महादेव चोकमा बुधबार बिहान एउटा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी भएको हो ।
आगलागीमा परी मृत्यु हुने महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएको छ ।काठमाडौंको मखन गल्लीमा भएको आगलागी नियन्त्रणमा आएको छ।
बुधबार बिहान ६स्४५ बजे काठमाडौं महानगरपालिका २४ स्थित मखन गल्लीको दुई घरमा लागेको आगो झन्डै डेढ घन्टापछि नियन्त्रणमा आएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए।
त्यस्तै जुद्धवारूणको दुइटा दमकल, एउटा नेपाली सेनाको, रामहिटी, ललितपुर महानगर र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो।
मखन गल्लीको सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट आगलागी सुरू भएको थियो। खाना पकाउने एलपिजी ग्यास लिक भएर लागेको आगो सँगै रहेको रूकेश श्रेष्ठको पाँच तले घरमा पनि सल्किएको थियो।

