काठमाडौं । विश्वका महाशक्ति राष्ट्रहरु अमेरिका, चीन र भारतबिचको सैन्य कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउने प्रयास नेपाली सेनाको नेतृत्वले गरिरहेको छ । सैन्य कुटनीतिक सम्बन्धलाई सन्तुलित राख्न नेपाली सेनाको नेतृत्वले अमेरिकी सेनासँगको संयुक्त सैन्य तालिम सकिएकै दिन एउटा टोलीलाई सैन्य तालिमकै लागि चीन पठाएको छ ।
२०८१ भाद्र ३० गतेबाट नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेना बिच सञ्चालित संयुक्त अभ्यास प्यासिफिक एन्जेल २०८१ आश्विन ०४ गते सम्पन्न भएको छ । अमेरिकी सेना यसपटक लडाकू विमानसहित संयुक्त तालिममा सहभागी भएको थियो ।
यसैबिच, नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र संघिय शान्ति मिसन लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं विभिन्न प्रकारका पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको सन्दर्भमा सोही अनुरूप नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाका फौजबिच सञ्चालन हुँदै आइरहेको अभ्यास सगरमाथा फेण्डसिप मा सहभागी हुन नेपाली सेनाको टोली २०८१ आश्विन ०४ गते चीन प्रस्थान गरेको छ ।
जंगी अड्डाले दिएको जानकारी अनुसार २०८१ आश्विन ०५ गतेदेखि आश्विन १५ गते सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघिय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुनेछ । २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो । नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड–१९ को महामारी पश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको हो ।
यता आजै प्रधान सेनापतिसँग भारतका राजदूतले भेटघाट गरेका छन् । २०८१ आश्विन ०४ गते प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव बिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो । सैन्य मुख्यालयले दिएको जानकारी अनुसार प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

