बंगलादेश :देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।
उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ । बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।
बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् ।
आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए ।
बंगलादेशमा आरक्षणविरोधी आन्दोलनले सोमबार नयाँ मोड लिएको छ । उग्रविरोध प्रदर्शन खप्न नसकेर प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देशै छाडेर भाग्न बाध्य भएकी हुन् ।
स्थितिलाई नियन्त्रणमा लिँदै त्यहाँको सेनाले अन्तरिम सरकार बनाउने तयारी गरिरहेको छ । सेना प्रमुखले प्रदर्शनकारीहरूलाई संयम अपनाउन भनिरहेका छन् ।
सरकारी जागिरमा आरक्षणको मुद्दामा भड्किएको विरोध प्रदर्शनले आइतबार उग्ररुप लियो । विद्यार्थी अभियन्ताहरुले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’को क्रममा ढाकासमेत देशको कयौँ हिस्सामा आइतबार हिंसा फैलिएको थियो । गत महिना आरक्षणविरोधी प्रदर्शन सुरु भएयता अहिलेसम्म मर्नेको सङ्ख्या ३०० पुग्न लागिसकेको छ ।
हिंसा रोक्न सरकारले देशभरमा इन्टरनेट सेवा बन्द गरिदियो, कर्फ्यु लगाइयो । सरकारले तीन दिनको सार्वजनिक बिदाको पनि घोषणा गरेको थियो । तर, यी सबैले पनि स्थिति नियन्त्रणमा आउन सकेन । बंगलादेशको स्थिति बिग्रँदै गएपछि अमेरिकासमेत कयौँ देशले आफ्नो नागरिकका लागि एड्भाइजरी नै जारी गरेका थिए ।
गत महिना मात्रै आरक्षणको विरोधमा भएका हिंसात्मक विरोध प्रदर्शनमा १ सय ५० भन्दा धेरैको मृत्यु भएपछि सर्वोच्च अदालतले अधिकांश आरक्षण व्यवस्था खारेज गरेको थियो । सर्वोच्चको यो आदेशपछि विरोध प्रदर्शन साम्य हुने आशा गरिएको थियो ।
तर स्थिति यसको ठिक उल्टो भयो । विद्यार्थीहरूले उल्टै प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै चर्को विरोध प्रदर्शन गर्न थाले । प्रधानमन्त्री शेख हसिनाले हिंसा अन्त्य गर्ने इच्छा व्यक्त गर्दै विद्यार्थी नेताहरूसँग बिना सर्त वार्ताको प्रस्ताव राखेकी थिइन् ।
‘म आन्दोलनरत विद्यार्थीहरूसँग बसेर उनीहरूको कुरा सुन्न चाहन्छु । म कुनै द्वन्द्व चाहन्नँ,’ हसिनाले भनेकी थिइन् । तर विद्यार्थी आन्दोलनकारीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए ।
देशभरमा जारी हिंसाबिच प्रधानमन्त्री शेख हसिनाले सोमबार आफ्नी बहिनीको साथमा ढाका छाडिसकेकी छिन् । प्रदर्शनकारीले प्रधानमन्त्री निवास कब्जा गरेपछि हसिना राजीनामा दिएर भारततिर लागेकी हुन् ।

