काठमाडौँ । नयाँ राजनीतिक सत्ता समीकरणसँगै सेयरबजारमा कारोबार पनि चुलिन थालेको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार १५ अर्ब नाघेको छ। बुधबार ३ वर्षयताकै उच्च अर्थात् १२ अर्ब बढीको कारोबार भएको थियो। यसले बिहीबार थप उचाइ लिएको हो।
आज नेप्से ५७.७८ अंकले बढेर २४२२.४१ विन्दुमा पुगेको छ। लामो समयपछि नेप्सेले २ हजार आसपासको विन्दु छोडेर उकालो लय लिएको हो। बिहीबारको कारोबारमा १३६ कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटाको घटेको र दुईवटाको बुधबारकै मूल्यमा कारोबार भएको जनाएको छ।
बिहीबार बीमा, माइक्रोफाइनान्स, होटल र पर्यटन तथा विकास बैंकले बजारलाई उकालो लाग्न मद्दत गरे। यी समूहको सूचक बढ्दा फाइनान्सको मात्र रातो भएको छ।
आज नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत्, उपकार लघुवित्त, थ्रिस्टार हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट ब्रेक भएको छ। योसँगै लगानीकर्ताले क्रमशः १८.१०, ९०.७०, १७.९०, २०६.५० र ६०.२० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
कम्पनीहरुको सेयर ५.७६ प्रतिशतसम्म मात्र अधिकतम घट्दा लगानीकर्ताले कम दरमा प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। कारोबारतर्फ आज नेपाल फाइनान्सको ४२ करोडको, अपरतामाकोशीको ३८ करोड, ङादी पावरको ३० करोड, शाइन रेसुंगाको २७ करोड र कुमारी बैंकको २३ करोडको कारोबार भएको छ।
बिहीबार ३ करोड ९६ लाख कित्ता सेयर किनबेच भएको छ।

