काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएका नेपालबाट दुई वटा टोली हजयात्राका लागि साउदी अरबतर्फ उडेको छ।
बुधबार राति १५० जनाको पहिलो टोली र बिहीबार बिहान १४९ जनाको दोस्रो टोली प्रस्थान गरेका हुन्। हजयात्रीको बिदाइका लागि बुधबार राति उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। ६ टोलीमा नेपाली हजयात्री मक्का जाँदै छन्।
गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिका अनुसार यस वर्ष ७५३ जना हजमा जाँदै छन्। यस वर्ष समितिले प्रतियात्रु चार लाख १५ हजार रुपैयाँ शुल्क लिएको छ ।
नेपालमा सरकार मार्फत हजयात्रामा जाने क्रम २०२१ सालदेखि शुरू भएको हो। त्यति वेला समितिका अध्यक्ष अह्मद्दीन थिए। उनी संस्थापक अध्यक्ष समेत हुन्। त्यसअघि नेपाली हजयात्री भारतको मुम्बई हुँदै पानीजहाजबाट साउदी पुग्ने गरेका थिए। २०२० सालमा रौतहट जिल्लामा भएको मुस्लिम अगुवाहरूको भेलाले सरकारसँग हज समितिको माग गरेको थियो।
इस्लाम धर्मका प्रमुख स्तम्भ इमान, नमाज, रोजा, जकात र हज हुन्। स्वस्थ र आर्थिक हिसाबले सक्षम व्यक्तिहरू जीवनमा कम्तीमा एक पटक अनिवार्य हज जानुपर्ने मान्यता छ।
हजको मुख्य विधि हिजरी पात्रोको १२औं महीना जुलहिज्जाको ८ देखि १२ तारीखसम्म गरिन्छ। यस बाहेक पनि हजयात्री महीना दिनसम्म मक्का र मदिनामा विभिन्न धार्मिक कर्ममा सहभागी हुन्छन्। जुलहिज्जाकै १० तारीखमा इस्लाम धर्मावलम्बीको अर्को ठूलो चाड बक्र ईद पर्छ।
हजयात्रामा जानेहरूले मक्का पुग्नुअघि नै (आठ किलोमिटर वरै) सेतो रङको नसिलाइएको कपडा लगाउनुपर्छ। यही कपडालाई एहराम भनिन्छ। यद्यपि नेपाली हाजीहरू भने नेपालबाटै एहराम लगाएर जाने गरेका छन्। यो कपडा लगाएपछि हजको प्रक्रिया शुरू हुने मानिन्छ। मक्का पुगेर तवाफ र सई गरेपछि मात्र अर्को कपडा लगाउने गरिन्छ ।
मक्कामा पैगम्बर इब्राहिम र उनका दुई छोरा इस्माइल र इसहाकले एउटा घर बनाएका थिए। आदम ९इस्लाम र इसाई धर्मग्रन्थ अनुसार संसारको पहिलो व्यक्ति०ले पनि त्यहीं घर बनाएको भन्ने विश्वास छ। उक्त घरलाई बैतुल्लाह अर्थात् अल्लाहको घर भनिन्थ्यो। पछि इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदले उक्त घर पुनर्निर्माण गरे जसलाई काबा भनिन्छ।
यही काबाको सात पटक परिक्रमा गर्ने कार्यलाई तवाफ भनिन्छ। हज बाहेकको अवसरमा पनि यस ठाउँमा उमरह ९हजको सानो रूप० गर्नेहरू पुगेका हुन्छन्।
इब्राहिम श्रीमती हाज्रह र छोरा इस्माइल सहित अरबको मरुभूमि हुँदै मिश्र ९वर्तमान इजिप्ट०को यात्रामा हिंडेका थिए। बाटोमा इस्माइल तिर्खाए। यसपछि हाज्रह पानी खोज्दै सफा र मर्वह नामका दुई पहाडबीच सात पटक ओहोरदोहोर गर्दा इस्माइलको खुट्टा नजीक पानीको मुहान फुटेको विश्वास छ।
उक्त पानीको मुहानलाई जमजम भनियो। यसलाई महत्त्वपूर्ण कोसेली पनि मानिन्छ। सबैजसो हाजी यहींको पानी कोसेलीस्वरूप इस्टमित्रलाई दिन्छन्। इस्माइलकी आमा पानीका लागि दौडिएकै सम्झनामा हाजीहरू पनि उक्त पहाडबीच बिस्तारै दौडने गर्छन्। यसरी दौडिनुलाई नै सई भनिन्छ। सईपछि पुरुषहरूले कपाल खौरिने गर्छन् भने महिलाले पनि केही अंश काट्नुपर्ने मान्यता छ।
हाजीहरूले तवाफ गरिसकेर एक दिन मिना र एक दिन मुजदल्फह बसेर जुलहिज्जाको ९ तारिखको दिन मक्काभन्दा परको ठूलो मैदानमा दिन बिताउने गर्छन्। खुला आकाशमुनि यहाँ बसेर क्षमायाचना गर्ने गरिन्छ।
यस दिन हज नगएका इस्लाम धर्मावलम्बी पनि व्रत बस्ने गर्छन्। पैगम्बर मोहम्मद आफ्ना साथीहरूसँग मक्का यात्रामा रहँदा यही मैदानमा उनले अन्तिम सम्बोधन गरेका थिए।

