काठमाडौं । नेपालका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ औपचारिक भ्रमणका क्रममा सोमबार बेइजिङ पुगेका छन् । बेइजिङ पुगेलगत्तै उनले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायत अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । हुनिङ चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरीयताका नेता हुन् ।
आज मंगलबार अपराह्न उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चिनियाँ विदेशमन्त्री यीले रात्रिभोजसहित श्रेष्ठलाई स्वागत गर्नेछन् । प्रचण्डको भ्रमणमा बेइजिङमा भएका १२ सहमतिपत्र–सम्झौता कार्यान्वयनका विषयमा उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार चिनियाँ समकक्षी यीसँग बेइजिङमा छलफल गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री यीले उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा मंगलबार रात्रिभोज आयोजना गर्दै छन् । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार बिहान हुवावे रिसर्च एन्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा सहभागी हुनेछन् । त्यहाँबाट नेपाली राजदूतावास पुगेर उनले लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यसबैबिच, नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी)का अध्यक्ष हुनिङले दुई बिआरआई कार्यान्वयन योजनामा चाँडै हस्ताक्षर हुने विश्वास व्यक्त गरेका छन् । ‘मलाई विश्वास छ, दुई देशले बिआरआई कार्यान्वयन योजनामा छिट्टै हस्ताक्षर गर्नेछन्,’ हुनिङलाई उद्धृत गर्दै नेपाली अधिकारीले जानकारी दिएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले पनि नेपाल सरकारले यो विषय चाँडै टुंग्याउन चाहेको जवाफ दिएका थिए ।
हुनिङले भेटवार्ताको सुरुवातमा चिनियाँ राष्ट्रपति सी जिनपिङका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपालका शीर्ष नेताहरूलाई शुभकामना सन्देश दिएका थिए । दुई नेताबीच दुई देशको सम्बन्धबाहेक चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रको सम्बन्धबारे छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
भेटवार्तामा हुनिङले राजनीतिक स्थिरताका लागि गरिबी निवारणमा जोड दिँदै यसका लागि चीनले नेपाललाई सहयोग गर्ने आश्वासन दिएका छन् । चिनियाँ नेता हुनिङले नेपाल चीनको छिमेकी मात्र नभएर पुरानो मित्र भएको उल्लेख गर्दै एकअर्को देशको संवेदनशीलतामा दुवैले सम्मान गर्दै आएको बताए । ‘नेपाल चीनसँगसँगै अघि बढोस् । नेपाली जनता गरिबीबाट माथि उठून् हामी सकेको सहयोग गर्छौँ,’ चिनियाँ नेताको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक अधिकारीले भने । नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा चीनले सहयोग गर्ने पनि उनको भनाइ थियो ।
चिनियाँ नेता हुनिङले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो राखेका थिए । भारतपछि तिब्बती शरणार्थीहरूको दोस्रो ठूलो जनसंख्या नेपालमा रहेको उल्लेख गर्दै हुनिङले उनीहरूका गतिविधिबारे चासो राखेका थिए । यद्यपि, यसमा नेपालले चीनको संवेदनशीलतालाई सम्बोधन गर्दै आएकोमा चीन खुसी रहेको पनि उनको भनाइ थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए । तिब्बती शरणार्थीहरूको सन्दर्भमा नेपाल थप संवेदनशील भइदियोस् भन्ने चाहना चिनियाँ पक्षले राखेको स्रोतले बतायो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले परराष्ट्रमन्त्रीको चीन भ्रमणको क्रममा भएको द्विपक्षीय भेटवार्तामा आर्थिक विकास र समृद्धिका विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले सोमबारै चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री सुन हैयानसँग भेटवार्ता गरेका छन् । रात्रिभोजसहितको भेटवार्तामा चिनियाँ नेतृ हैयानले माओवादी केन्द्रसहित प्रमुख दलहरूसँग चीनले निरन्तर संवाद जारी राखेको बताएकी थिइन् ।

बुधबार उनी नेपाली राजदूतावासद्वारा आयोजित दिवाभोजमा सहभागी भएर अपराह्न छोङछिङ जाँदै छन् । साँझ छोङछिङका मेयर तथा पार्टी सेक्रेटरी युयान जियाजुनले स्वागत गर्नेछन् । उनीसँग श्रेष्ठको रात्रिभोजसहित छलफल हुनेछ ।
बिहीबार बिहान उनी चिनियाँ प्रथम प्रधानमन्त्री चाउ एन लाईको निवासको भ्रमणमा जानेछन् । शुक्रबार उनी ल्हासा जाने कार्यक्रम छ । नेपाली महावाणिज्यदूतावासको भ्रमण गर्ने र साँझ तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका सेक्रेटरी तिब्बतको ल्हासास्थित सिपिसी पार्टी सेक्रेटरी वाङ छुङछेङसँग भेटवार्ता र रात्रिभोज हुनेछ ।
शनिबारको मौसम र श्रेष्ठको स्वास्थ्यले साथ दिएमा कैलाश मानसरोवर जाने कार्यक्रम छ । भोलिपल्ट अर्थात् आइतबार अपराह्न ल्हासाबाट उनी छेन्दु पुग्ने कार्यक्रम छ । साँझ सिचुआन प्रान्तको छेन्दुमा पार्टी सचिव वाङ सियाओईले श्रेष्ठलाई रात्रिभोजसहित स्वागत गर्ने कार्यक्रम छ । सोमबार बिहान उनी स्वदेश फर्किनेछन् ।
यसैबिच, बेइजिङमा बिआरआईसँग सम्बन्धित परियोजनाको कार्यान्वयनका विषयमा छलफल चलिरहँदा यता नेपालको दक्षिणी छिमेकीले भने तीन महिनाअघि नै नवीकरणका लागि पत्र पठाए पनि हालसम्म भारतले जवाफ नपठाएको, नवीकरण गर्न आनाकानी गरिरहेको समाचार स्रोतले जानकारी दिएको छ । भारतले नवीकरण गरिदिएन भने स्वदेशमा उत्पादित बिजुलीमै निर्भर हुनुपर्ने र लोडसेडिङको मार खेप्नुपर्ने स्थिति आउने विद्युत प्राधिकरण स्रोतले जनाएको छ ।
नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत ६५० मेगावाटसम्म विद्युत् आयात वा निर्यात गर्न सक्छ । सुक्खायाममा भारतबाट अधिकतम ४५० मेगावाट विद्युत् आयात गर्छ भने वर्षामा नेपालले भारततर्फ विद्युत् निर्यात गर्दै आएको छ । प्राधिकरणका अधिकारीका अनुसार अबको करिब दुई महिना कुल माग करिब २ हजार मेगावाट पुग्नेछ जबकि आन्तरिक उत्पादन क्षमता भने करिब १४ सय मेगावाट मात्रै हुनेछ । ६ सय मेगावाट अपुग हुने अवस्थामा प्राधिकरणले करिब ४५० मेगावाट भारतबाट आयात गरी माग सन्तुलन गर्दै आएको थियो । तर भारतले विद्युत् आयात अनुमतिमा नवीकरण नगरेमा विद्युत् वितरण प्रणाली प्रभावित हुनेछ ।
भारतले सम्झौता नवीकरण नगरेमा सुरुमा औद्योगिक क्षेत्रमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ । यसैपालि सम्झौता नवीकरण किन भएन भन्ने विषयमा आफूहरू अनभिज्ञ रहेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ । तर, विद्युत् आयात–निर्यात सहज बनाउने भनेर विश्वासको वातावरण बनिसकेको अवस्थामा अहिले सम्झौता नवीकरण नहुनु आश्चर्यजनक भएको ऊर्जा मन्त्रालयका अधिकारीको भनाइ छ ।
विद्युत् आदानप्रदान सम्झौताबमोजिम प्राधिकरणले आवश्यक परेका बेला १३२ केभी प्रसारण लाइनमार्फत बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट बिजुली आयात गर्दै आएको छ । भारतले विद्युत बेच्ने सम्झौता नगर्नुलाई चीनसँगको बिआरआई फ्याक्टरको प्रभावसँग जोडेर पनि विश्लेषण गर्न थालिएको छ ।

