वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
सभामुख देवराज घिमिरेले विमोचन लर्न लागेको पुस्तक च्यातियो
Prabhu Bank AD

काठमाडौं । आइतबार बिहान ११ बजे भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा एउटा पुस्तक विमोचन कार्यक्रम राखिएको थियो। पुस्तक थियो– अग्र अनुहारः कथा अग्रजको, गाथा महासंघको।

कार्यक्रमका वक्ता थिए सभामुख देवराज घिमिरे, सञ्चारमन्त्री रेखा शर्मा र प्राध्यापक रामकृष्ण रेग्मी। तर भयो के भने, पत्रकारको यो कार्यक्रममा हंगामा हुन पुग्यो। विमोचनका लागि तयार पुस्तक च्यातियो।

कार्यक्रम नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको थियो। समितिले प्रकाशित गरेको सो पुस्तकमा इतिहास मेटाउने प्रयास भएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज)ले कार्यक्रमस्थलमै विरोध प्रदर्शन गर्‍यो। फोनिजले विरोधमात्रै गरेन, विमोचनका लागि तयार पुस्तक नियन्त्रणमा लिएर च्यात्ने कामसमेत गरेको छ।

फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले महासंघले इतिहास मेटाउने काम गरेकाले आफूहरुले त्यसको विरोध गरेको बताए। २००८ वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठ महासंघ (तत्कालीन पत्रकार संघ) को अध्यक्ष भएका थिए। तर महासंघले प्रकाशन गरेको पुस्तकमा त्यसको कुनै पनि चर्चा नरहेका कारण आफूहरूले कार्यक्रम अवरुद्ध गर्नुको साथै पुस्तक पनि च्यातेको उनको भनाइ छ।

महासंघले प्रकाशन गरेको पुस्तकमा संस्थापक कृष्णप्रसाद भट्टराईलाई मानिएको छ। उनीलगायत अन्य अध्यक्षको संक्षिप्त जीवनी पुस्तकमा उल्लेख छ। त्यसमा सत्यनारायणको कहीँकतै उल्लेख नहरेको भन्दै फोनिजले विरोध गरेको हो।

फोनिजले पुस्तक बजारमा जहाँ देखिन्छ, त्यहीँ जलाउने निर्णय पनि गरेको छ। यसको विरुद्धमा आन्दोलन निरन्तर चलिरहने र देशैभर आन्दोलन चलाउने उपाध्यक्ष चौधरीले बताए।

प्रतिष्ठान प्रदेश कमिटीका उपाध्यक्ष वीरेन्द्र ओलीका अनुसार होहल्ला र विरोधकै बीच पुस्तक विमोचन भएको छ। उनले भने, ‘महासंघ संस्थापकको विषयलाई लिएर विवाद भएको हो तर महासंघको विधान तथा अन्य दस्तावेजले सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक मानेको छैन। महासंघको निर्देशन बमोजिम र त्यहाँको दस्तावेजको आधारमा यो पुस्तक प्रकाशन गरेका हौं।’

कार्यक्रममा सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाइएको थियो। ​विवादको संकेतपछि घिमिरे कार्यक्रममा आएनन् भने सञ्चारमन्त्री रेखा शर्मा पनि अनुपस्थित भएकी छिन्।

Prabhu Bank AD

सम्बन्धित खवर