काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे युवा संगठन क्रान्तिकारी युवा संगठन, नेपालका नेता कार्यकर्ताहरुले सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेट, प्रधानमन्त्री निवास बालुवाटार परिसरभित्र सचिवालयकाे मूल गेट, सर्वाेच्च अदालतकाे मुलगेट, नयाँ बनेश्वर स्थित संसद भवनकाे मूलगेट, मन्त्री निवास हरिहरभवनकाे मूलगेटमा एकसाथ अर्धनग्न भएर विराेध प्रदर्शन गरेका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बालकुमारी घटनाकाे विरुद्धमा १० दिने संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ । घाेषित संघर्षकाे तेस्राे दिन आज नेपाल सरकारकाे प्रमुख प्रशासकीय भवनभित्रै प्रवेश गरेर निषेधित क्षेत्रमा अर्धनग्न भएर विराेध प्रदर्शन गरिएकाे हाे ।
पाँचै स्थानमा गरिएका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर सिंहदरबारभित्रबाट ३ जना, सर्वाेच्च अदालतबाट २ जना, संसदभवनबाट तीनजना, हरिहरभवन मन्त्रीक्वार्टरबाट ३ जना, बालुवाटारबाट ३ जना गरी १४ जना युवाहरुलाई प्रहरीले अर्धनग्न अवस्थामा गिरफ्तार गरेकाे छ । गिरफ्तार हुनेहरूमा सङ्गठनका कार्यालय सदस्य भुवन रम्तेल, सचिवालय सदस्यहरू वसन्त भण्डारी, दीपेन्द्र ऐर, निश्चल गर्तौला, सुलभ तिमिल्सिना, प्रकाश शर्मा, पद्म हमाल, विकल्प लामा तथा केन्द्रीय सदस्यहरू तिलक वयक, बिलबहादुर तामाङ, सूर्य परियार, गोपाल विक, राजकुमार तामाङ, हरि घर्ती र आकाश कार्की रहेका छन् ।
विराेध प्रदर्शनकाे क्रममा उनीहरुले “युवा मार्न पाइदैन, दलाल संसदीय व्यवस्था चाहिदैन” भन्दै नाराबाजी गरेका थिए ।

