वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
इजरायल र प्यालेस्टाइनको युद्धका कारण सुन अझै महंगिने संकेत, महंगो बन्ने भयो विवाह
Prabhu Bank AD

काठमाडौं । विवाह तथा अन्य शुभ कार्यका लागि साइतको महिना हो मंसिर । यस महिनामा अन्य समय भन्दा धेरै सुनको माग, कारोबार हुने गरेको छ । नेपाली संस्कृति तथा प्रचलन अनुसार हरेक कार्यक्रमका लागि सुन आवश्यक मानिने भएकाले पनि मंसिरमा सुनको खपत बढी हुन्छ ।

नेपाली महिलाहरुको श्रृंगारका रुपमा पनि सुनका गहनालाई लिइने हुँदा पनि विवाह तथा अन्य शुभसाइतका कार्यक्रमहरुमा सुन अनिवार्य हुन्छ । जसकारण सुनको माग र व्यापार मंसिरमा अन्य समयभन्दा धेरै हुने गर्दछ ।

सुनको मूल्य महंगिदा सर्वसाधारणका लागि भने सुन किन्न दिनानुदिन कठिन बन्दै गएको छ । यद्यपी थोरै नै भएपनि परम्परा र रहरका कारण नेपालीहरूले सुन भने खरिद गर्ने गर्दछन् ।

किन बढ्दैछ सुनको भाउ ?

मंसिर लागेसँगै सुनको भाउ भने बढेको बढ्यै छ । मंगलबार सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँ तोकिएर ऐतिहासिक रेकर्ड नजिक पुगेको छ । कात्तिक सकिए यता सुन तोलामा नै तीन हजार रूपैयाँले महंगिसकेको छ । गत महिना भने सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

इजरायल र प्यालेस्टाइनबीचको युद्धका कारण नै अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको छ । जसको प्रभाव नेपाली सुन बजारमा पनि देखिएको छ ।

रुस र युक्रेनको युद्धपछि हाल इजरायल र प्यालेस्टाईन युद्धका कारण विश्वको अर्थतन्त्र प्रभावित बनेको छ । जसको असर विश्वको सुन बजारमा परेको छ । लगानीकर्ताहरुले सुरक्षित लगानीको रुपमा सुनलाई लिएको भएकाले हाल सुनमाथि आकर्षण बढेको छ र सुनमा लगानी पनि बढेको छ । अन्य क्षेत्रभन्दा सुनमा लगानी बढ्दा सुनको भाउ बढ्न पुगेको विश्लेषकहरु बताउँछन् ।

अर्कोतर्फ चीन र अमेरिकाको व्यापारीक द्वन्द्ध र ब्रिक्स मुलुकहरुको नयाँ मुद्रा प्रचलनमा ल्याउने बहसका कारण पनि हाल विश्वकै अर्थतन्त्र पर्ख र हेरको अवस्थामा रहेको पनि विश्लेषकहरुको धारणा रहेको छ । मंसिरमा सुनको मूल्य बढ्न सक्ने महासंघको अनुमान रहेको छ ।

सुनको भाउ बढ्दा मंसिरमा हुुने व्यापार पनि घट्ने देखिएको छ । हाल दिनहुँ करिब ५ किलो सुन खपत भइरहेको छ । तिज र दशैँमा खासै व्यापार नभएकोले तिहारमा हुने अनुमान गरिएको थियो । आशा गरिए अनुरुप नभएको व्यवसायीहरु गुनासो गर्छन् । तिहारमा झण्डै १५० किलोको लक्ष्य राखिएपनि ५० किलो मात्र खपत भएको महासंघको भनाई छ ।

कात्तिक महिनामा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो । कात्तिक ११ गते, सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँको उचाइमा पुगेर कारोबार भएको थियो ।

तर महासंघले सार्वजनिक गरेको महिनाभरको तथ्यांक हेर्दा भने कात्तिकको सुरुवात र अन्त्यमा एकै मूल्यमा सुन खरिदबिक्री भएको देखिन्छ । कात्तिक १ गते, सुन प्रतितोला एक लाख १३ हजार २०० रूपैयाँ तोकिएको थियो । कात्तिक २७ गते पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर