वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
माइतीघर–नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणा, प्रसाइँलाई बालाजु, बस्नेतलाई तीनकुने पठाइने
Prabhu Bank AD

काठमाडौँ । सरकारले माइतीघरदेखि नयाँ बानेश्वरसम्मलाई १ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान’ ले मंसिर ७ मा एकै दिन विभिन्न माग राखी छुट्टाछुट्टै विरोध कार्यक्रम आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई ३० दिनका लागि भेला, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न रोक लगाएको हो । प्रशासनको आदेश उल्लंघन गरिए संलग्नलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याइने जनाइएको छ ।

काठमाडौं प्रशासनले मंसिर ४ देखि ३० सम्म यो क्षेत्रमा ५ जनाभन्दा बढी मानिस भेला भएर जुलुस, प्रदर्शन, भेला, धर्ना, सभाजस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रसाईं नेतृत्वको समूहले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउनुपर्ने माग राखेर आन्दोलन घोषणा गरेको छ । उक्त समूहले मंसिर ७ मा माइतीघर–बानेश्वर क्षेत्रमा कार्यक्रम गर्ने जनाएको थियो । त्यसपछि युवा संघले पनि यही क्षेत्रमा कार्यक्रम स्थल तोकेको थियो । दुवै पक्षका कार्यक्रम जुध्न सक्ने र यसबाट प्रतिकूल अवस्था निम्तिने निष्कर्ष निकालेर सरकार यस क्षेत्रमा कुनै पनि गतिविधि गर्न नदिने निर्णयमा पुगेको हो ।

दुवै पक्षले एकअर्काप्रति लक्षित गरेर उत्तेजक अभिव्यक्ति दिन थालेपछि गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको संयोजकत्वमा चार वटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित समन्वय बैठक बसेको थियो । उक्त बैठकले युवा संघ र प्रसाई नेतृत्वको समूहबीच हुन सक्ने झडप र एकअर्का लक्षित उत्तेजक गतिविधिबाट समग्र शान्तिसुरक्षामा खलल पुग्न सक्ने भन्दै सोहीअनुसार कार्यक्रम व्यवस्थापन गर्न निर्देशन दिएको थियो । त्यसपछि सोमबार दिउँसो जिल्ला सुरक्षा समिति काठमाडौंमा पनि यही विषयमा समीक्षा बैठक बसेको थियो ।

बैठकमा काठमाडौंका सुरक्षा प्रमुखहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको एरियालाई निषेधित क्षेत्र घोषणा गरी दुवै पक्षका कार्यक्रम गर्न वैकल्पिक व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च हुँदै माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

दुवै पक्षका कार्यक्रम सुरक्षा संयन्त्रको घेराबीच गर्न दिन प्रशासनले काठमाडौंका तीनकुने, सिफल, धुम्बाराही (शंखपार्क), नक्साल (नारायणचौर), कलंकी, माछापोखरी क्षेत्रलाई सम्भावित स्थानका रूपमा समेटेको थियो । सोहीअनुसार तीनकुनेमा युवा संघको कार्यक्रम गर्न दिने निर्णय प्रशासनले गरेको छ । प्रशासनको आदेशलगत्तै माइतीघरमा छोरी आरती साहको न्यायका लागि अनशनरत उनकी आमा धनुषाकी निर्मला साहलाई शान्ति वाटिका (रत्नपार्क)मा सारिएको छ भने २०४७ को संविधान ब्युँताउनुपर्ने मागसहित धर्नारत बीपी कांग्रेस र ‘सन्तोष राजावादी’ को समूहलाई त्यहाँबाट उठाइएको प्रजिअ बस्नेतले बताए । अब त्यस क्षेत्रमा कुनै पनि समूहका कार्यक्रम वा धर्ना हुन नदिने उनले स्पष्ट पारे ।

प्रसाईंको समूहलाई चक्रपथभित्र स्थान नदिने र उपयुक्त स्थानका रूपमा बालाजु माछापोखरी क्षेत्रलाई तोक्ने तयारी भइरहेको प्रशासनका एक अधिकारीले बताए । मंगलबार प्रशासनले यस विषयमा निर्णय गर्ने प्रजिअ बस्नेतले बताए । मंसिर ७ मा दुवै पक्षको कार्यक्रम सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीका उपत्यकास्थित नियमित र रिजर्भ फोर्सबाट जनशक्ति तैनाथ गराउन लागिएको छ ।

युवा संघले महँगी र भ्रष्टाचारविरोधी गतिविधि नियन्त्रणलाई केन्द्रित गरेर कार्यक्रम आयोजना हुने जनाएको छ । प्रसाईं नेतृत्वको समूहले व्यवस्था नै परिवर्तन, २० लाख रुपैयाँसम्मको ऋण मिनाहालगायतका माग अघि सारेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर