काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् । ‘थप सहायता सामग्रीहरू बाटोमा छन्,’ उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।
जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।
सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।
यसै गरी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।


