सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिएका छन् । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।
भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा १२८ जनाको मृत्यु भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ७ बजेर १७ मिनेटमा गराएको जानकारी अनुसार जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यसैगरी जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइतेको उपचार भइरहेको छ । भुकम्पमा परी जाजरकोट नालगाड नरपालिकाकी उपमेयर सरिता सिंहको समेत मृत्यु भएको छ ।
यसैबीच, प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।
जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।

