काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच भइरहेको पछिल्लो युद्धलाई नेपालका सात जना पूर्व राजदूतहरुले हिंसाको नयाँ लहर भनेका छन् । उनीहरुले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि गरेको नेपाली र अन्य धेरै निहत्था नागरिकमाथिको हमला र इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै थालेको प्रतिहिंसाको सिलसिलाले अवस्थालाई गम्भीर बनाएको बताएका छन् ।
पूर्व राजदूतहरु निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेशमान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केद्वारा जारी संयुक्त वक्तव्यमा प्यालेष्टिनी विद्रोही समूहको आक्रमणबाट १४ बढी र इजरायलको तर्फबाट भएको प्रत्याक्रमणमा ४३ सयभन्दा बढीको हत्याको निन्दा गरेका छन् । भनिएको छ, ‘हजारौँलाई घाइते बनाउने र कैयौँलाई बन्धक बनाउने काम भयो । हामी प्यालेस्टिनी जनताको अधिकारका पक्षमा छौँ तर आफ्नो अधिकारको खोजी गर्ने क्रममा निर्दोष र निहत्था मान्छेलाई हतियारबन्द हमला गरी हत्या गर्ने र बन्धक बनाउने जस्ता क्रियाकलापको भने निन्दा तथा भत्र्सना गर्दछौँ ।’
त्यसैगरी इजरायलले उक्त आक्रमणको प्रत्याक्रमण भन्दै गाजापट्टीमा सर्वसाधारणका बस्तीमा गरेको बम र गोलाबारीबाट ४३ सयभन्दा बढीको हत्या, हजारौँ घाइते गराएको कार्यको पनि उनीहरुले निन्दा गरेका हुन् । वक्तव्यमा लेखिएको छ, ‘गाजापट्टीलाई सैनिक नाकाबन्दी गरिएको छ भने विद्युत्, खाद्यान्न, पिउनेपानी, औषधिको आपूर्ति रोकिएको छ र आवासको हाहाकार छ । नागरिक बस्तीमा बमगोला बर्साइएको छ र पूरै गाजापट्टीलाई खाली गर्न उर्दी जारी गरिएको छ ।’
इजरायलको उक्त कार्यलाई पूर्वराजदूतहरुले राज्य आतंकको संज्ञा दिएका छन् । यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघ तत्काल युद्ध रोकी वार्ताद्वारा समस्याको समाधान गर्न, सर्वसाधारणको ज्यान जोखिमबाट जोगाउन र सर्वसाधारणलाई तत्काल मानवीय सहायता पुर्याउन असमर्थ भएमा त्यसको औचित्यमा नै प्रश्न उठ्ने बताइको छ ।
इजरायल र प्यालेस्टाइन दुबै पक्षलाई संयम रहन र पूर्ववर्ती समस्त सम्झौतालाई सम्मान गर्न आग्रह गरिएको छ । वार्ता र कूटनीतिक माध्यमबाट समस्याको समधान गर्न आग्रह गरिएको छ ।

