वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
सशस्त्र द्वन्द्वका घाइतेले सरकारलाई दिए चेतावनी
Prabhu Bank AD

 

काठमाडौँ । सशस्त्र द्वन्द्वका घाइतेहरूले आफूहरूको उचित व्यवस्थापन नगरिए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्।
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सशस्त्र द्वन्द्वका घाइते र अपांगता भएका व्यक्तिहरू तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

सरकारले आफूहरूलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गर्नुपर्ने द्वन्द्वपीडित चेतन सिग्देलले बताए। आफूहरूको मागलाई नजर अन्दाज गरिए आत्मदाह गर्ने उनको चेतावनी छ।

“द्वन्द्वले हामीलाई काम गरिखान नसक्ने अवस्थामा पुर्‍यायो। यदि हाम्रो समस्याको बेवास्ता गरियो भने संघर्षमा जानेछौँ,” उनले भने, “पार्टी र नेताका नाममा संयुक्त आत्मदाह गर्नेछौ।” उनले क्यान्टोनमेन्टभित्रको वास्तविकतासमेत बाहिर ल्याउने चेतावनी दिएका छन्।

नेताहरूलाई जंगलदेखि महलसम्म पुर्‍याउन बारुद र छर्रा शरीरमा बोकेर युद्ध लडेका घाइते तथा अपांगले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनको भनाइ छ।

पूर्वजनमुक्ति सेनाका कमान्डर लाहानु चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमुक्ति सेनालाई तत्कालीन प्रधानसेनापति रुकमांगद कटुवालको अगाडी ‘प्यारालाइज्ड’ गराएको आरोप लगाए।

प्रधानमन्त्री दाहाल संसदीय व्यवस्था स्वीकार गरेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँमा आइपुगेको उनको टिप्पणी छ।

Prabhu Bank AD

सम्बन्धित खवर