काठमाडौं । १५ भदौं, २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय वनस्थलीमा पुगेर राजदूत श्रीवास्तवले सभापति लामिछानेसँग भेटवार्ता गरेका हुन् ।
भेटमा मूख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने कुरा सभापति लामिछानेले राखेका थिए ।
उक्त भेटमा पार्टीका तर्फबाट महामन्त्री डा.मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा प्रतिनिधि सभा सदस्य माननीय शिशिर खनाल र प्रतिनिधि सभा सदस्य मनिष झा पनि सहभागी थिए ।
त्यसअघि भदौं ६, २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको थियो । रवि लामिछानेलाई भेट्न राजदूत थम्पसन पार्टी कार्यालय वनस्थली पुगेका थिए ।
भेटमा नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको छ। उक्त भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावासको उच्च प्राथमिकतामा रहेको थम्पसनले जानकारी गराएको रास्वपाले जनाएको छ।
भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता थियो।
असार अन्तिम साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुपनि एमसीसी कार्यान्वयनका विषयमा छलफल गर्न नेपाल आएका थिए। अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालका राजनीतिक दलहरुलाई ताकेता गर्ने क्रममा अमेरिकी राजदूतले नेताहरुसँगको भेटलाई तिब्रता दिएका थिए ।
यसैबीच, साउन ३१, २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेट भएको थियो । सभापति लामिछाने र चिनियाँ राजदूतबीच पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा भेटवार्ता भएको थियो । भेटमा नेपाल र चीनका आपसी हित, चासोका विषयमा छलफल भएको रास्वपाले जानकारी दिएको छ। त्यस्तै, मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ।
उत्तरी सीमा क्षेत्रमा नेपालले बेहोरिरहेको समस्याप्रति राजदूतलाई ध्यानाकर्षण गराएको रास्वपाको भनाइ छ। जवाफमा सीमा क्षेत्रमा देखिएका समस्या समाधानको पहल लिन चीन तत्पर रहेको जानकारी राजदूतले दिएका थिए। पार्टी सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको पनि अवगत गराएका थिए।
राजदूतसँगको शिष्टाचार भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल सहभागी थिए।

