वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
प्लस टु पासपछि विद्यार्थीहरु विदेशिन थालेपछि स्नातक तह पढ्ने विद्यार्थी अभावमा कलेजहरु बन्द हुन थाले
Prabhu Bank AD

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा खुलेका निजी कलेजहरूको अवस्था अहिले विद्यार्थी अभावमा स्तानतक तहमा भर्ना लिने कि नलिने अवस्थाबाट गुज्रिन थालेका छन् । निजी कलेजहरुका अनुसार स्नातकमा भर्ना हुने विद्यार्थीको संख्या पाँच वर्षअघिको तुलनामा झण्डै आधाले घटेको छ।

काठमाडौँको पद्मोदय मोडस्थित हिमालयन ह्वाइट हाउस कलेजमा स्नातक पढ्न भर्ना हुने विद्यार्थीको संख्या विगतमाभन्दा आधाले घटेको छ। कलेजका प्राचार्य तोयानारायण पौडेलका अनुसार गत वर्ष बायोटेक्नोलोजीमा ४८ जनाको कोटामा १७ जना विद्यार्थी मात्र भर्ना भए।

त्यसैगरी ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) मा १४४ जनाको कोटामा २२ जना मात्र विद्यार्थी छन्। पाँच वर्ष पहिला स्नातक तहको पढाइ नेपालमै पूरा गर्नुपर्छ भन्ने विद्यार्थीको सोचाइ रहेकोमा अहिले प्लस टु सकेपछि विदेश जाने आकर्षण बढेको प्राचार्य पौडेल बताउँछन्।

हिमालयन ह्वाइट हाउस कलेजले गत माघमा इलामदेखि कञ्चनपुरसम्मका विभिन्न ३५ जिल्लामा छानिएका निजी तथा सामुदायिक विद्यालयका १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच अध्ययन गरेको थियो। त्यस क्रममा रुपन्देहीको वुटवलमा रहेका कालिका माध्यमिक विद्यालय र नविन औद्योगिक विद्यालयका बाहेक ९५ प्रतिशत विद्यार्थीले प्लस टुको अध्ययन सकेपछि थप शिक्षाका लागि विदेश जाने बताएका थिए।

नविन र कालिका माध्यमिक विद्यालयमा विदेश जाने र नेपालमै अध्ययन गर्ने सोच बनाएका विद्यार्थीको संख्या ५०÷५० प्रतिशत थियो। अध्ययनका लागि छानिएका विद्यालयहरूमा कक्षा १२ मा पढिरहेका विद्यार्थीलाई उनीहरूको कक्षा कोठामा पुगेर विदेश पढ्न जाने र नेपालमा अध्ययन गर्नेमध्ये एक विकल्प रोज्न लगाएको थियो। त्यसमध्ये ९५ प्रतिशत विद्यार्थीले देशबाहिर गएर पढ्ने विकल्प रोजेका थिए।

नाम सार्वजनिक गर्न नचाहने एक निजी कलेजका प्राचार्यको भनाइमा कुनै ब्याचमा भर्ना भएका विद्यार्थीमध्ये स्नातक सकिँदासम्म ४० प्रतिशत विदेश उडिसकेका हुन्छन्।
उता त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका सार्वजनिक क्याम्पस तथा विश्वविद्यालयका आफ्नै आंगिक क्याम्पसहरूमा पनि स्नातक विद्यार्थी घट्ने दर अझ उच्च छ। नेपाल पब्लिक क्याम्पस संघका महासचिव गोविन्दबहादुर कार्कीका अनुसार स्नातक तहको प्रथम वर्षमा भर्ना भएका विद्यार्थीमध्ये चौथो वर्षमा पुग्दा ६० प्रतिशत विद्यार्थी बाहिरिइसकेका हुन्छन्। कार्कीको भनाइमा विद्यार्थी अभावले धेरै पब्लिक क्याम्पसहरु बन्द हुने स्थितिमा पुगेका छन्।

पछिल्लो वर्षमा विदेशिने विद्यार्थीको संख्या बढेको तथ्यांकले पनि देखाउँछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखामा उपलब्ध तथ्यांकअनुसार पछिल्ला दुई वर्षमा दुई लाख २७ हजार २१७ जना विद्यार्थी बाहिरिएका छन्। आर्थिक वर्ष २०७९­÷८० मा एक लाख १० हजार २१७ र २०७८७९ मा एक लाख १७ हजार विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि देश छाडेका थिए।

कोभिड–१९ को महामारीका कारण त्यसअघिका दुई वर्षमा भने विदेशिने विद्यार्थीको संख्या कम थियो। २०७७र७८ मा २७ हजार ९०० र २०७६र७७ मा ३४ हजार ९६ जना मात्रै बाहिरिएका थिए । त्यसभन्दा अघि २०७५र७६ मा एनओसी लिएर बाहिरिने विद्यार्थीको संख्या ६३ हजार २९५ थियो।

सत्ता स्वार्थमा सरकार बनाउने र भत्काउने खेल, भ्रष्टाचार, अव्यवस्था, सेवा लिनका लागि सरकारी कार्यालयमा जाँदा त्यहाँबाट पाउने सास्ती र नेपालमा पढेपछि रोजगारी पाउन सकिन्छ भन्ने सुनिश्चितता नहुनु पनि नयाँ पुस्ताले देशमा भविष्य नदेख्नुका थप कारण भएको निजी कलेज सञ्चालकहरुको भनाइ छ ।

नेपालबाट विद्यार्थी विदेश जानुमा त्रिभुवन विश्वविद्यालयको भद्रगोल तालिकासमेत जिम्मेवार रहेको सरोकारवालाहरू बताउँछन्। समय तालिकाअनुसार परीक्षा नहुनु, नतिजा प्रकाशनमा ढिलाइ हुनुजस्ता कारण पनि नेपाली विद्यार्थीको बहिर्गमनमा जिम्मेवार रहेको हिमालयन ह्वाइट हाउस कलेजका प्राचार्य पौडेल बताउँछन्।

 

Prabhu Bank AD

सम्बन्धित खवर