काठमाडौं । खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण जहाज आइपुग्न ढिला हुँदा जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएका ४ शिशुले उपचार अभावमा ज्यान गुमाएका छन् । दुर्गम जिल्ला हुम्लाको सिमकोटमा रहेको सिमकोट विमानस्थलमा लामो समयसम्म उडान नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।
विमानस्थल पुग्दै फर्किँदै गर्नु सेवाग्राहीको दिनचर्या बनेको छ । यही चपेटामा परेर हुम्लाका ४ बालकले ज्यानसमेत गुमाउनु परेको छ । हुम्लाको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट गाउँपालिका–७ डाडाफयाका ७ महिने बालक रोहित शाही, खार्पुनाथ–१ लालिका डेढ वर्षे बालक आर्यन परियार र चंखेली–४ का ५ महिने बालक सन्देश लुवारको जहाज नआउँदा उपचार अभावमा ज्यान गएको हो ।
झाडापखालाले थलिएर अन्तिम अवस्थामा अस्पतालमा ल्याएका शाहीलाई अनियन्त्रित झाडापखालाका कारण आईसीयूमा उपचार गर्नुपर्ने भएकाले अस्पतालमा आईसीयू नभएकाले सुविधा सम्पन्न अस्पतालमा लिनुपर्नेमा मौसमका कारण जहाज नआउँदा मरे पनि मेरै घरमा मरला भनेर बाबु कालीबहादुरले मंगलबार घर लगेपछि बुधबार बच्चाको मृत्यु भएको र सुनारको झाडापखालाले थल्लिएर रगतमा संक्रमण भएकाले अवस्था गम्भीर देखिएपछि साउन १८ गते जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिइएको भए पनि खराब मौसमका कारण जहाज नआउँदा बच्चालाई बचाउन नसकिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर कैलाश लामाले बताए ।
अस्पतालका चिकित्सक डाक्टर लामाका अनुसार निमोनियाले थलिएका परियारले साउन ७ गते र कुपोषणले थलिएका लुवारले साउन ८ जहाज कुर्दाकुर्दै अस्पलालको शय्यामै ज्यान गुमाउनुपरेको छ । चारै जना बालकको जिल्लामा उपचार नहुने भन्दै जिल्ला बाहिर रिफर गरेको भए पनि जहाज नआउँदा समयमा सुविधा सम्पन्न अस्पतालमा लिन नसक्दा ५, ६ र १८ महिनाका बालकको अस्पतालको बेडमै र ७ महिनाका बालकको उनकै घरमा मृत्यु भएको बताए ।
हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे बाह्र बजेपछि नागरिक उड्ययान प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियमका कारण बालकको मृत्यु भएकाले यसको जिम्मा सरकारले लिनु पर्ने अधिकारकर्मीहरूले जनाएका छन् ।
बालकको घरको आर्थिक अवस्था कमजोर भए पनि आर्थिक सहयोग जुटाएर जिल्ला बाहिर उपचार गर्न सकिने अवस्था रहेकोमा हवाई सेवा अवरुद्ध भएका कारण उपचार गर्न नपाएपछि चारै बालकको मृत्यु भएको हो ।

