काठमाडौँ । ‘वान नाइट इन काठमाडौं’ अर्थात् ‘महानगर’को ट्रेलर सार्वजनिक भएको छ । मोहन राईद्वारा निर्देशित फिल्मको ट्रेलरमा कर्मा र मेनुका प्रधान देखिएका छन् ।
थुप्रै फेस्टिभल घुमेको फिल्ममा एउटा घटनापछि एक रात सँगै कटाउन बाध्य दुई पात्रहरूको कथा छ । फिल्ममा कर्मा र मेनुकासँगै अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायतको अभिनय छ ।
सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा वर्ल्ड प्रिमियर भएको यो फिल्मले निफमा राष्ट्रिय चलचित्रको विधामा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो । त्यस्तै नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।
माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको ‘महानगर’ मा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रडुसर हुन् । भदौ ८ देखि यो फिल्म प्रदर्शनमा आउनेछ ।

