काठमाडौ । नेपाल राष्ट्र बैंकले शेयर कारोबार समयमा मौद्रिक नीति सार्वजनिक गरेर लगानीकर्तालाई गुमराहमा पारेको भनेर सर्वत्र आलोचना भइरहेको छ। केन्द्रीय बैंकले आइतबार दिउँसो करिब साढे १ बजेतिर आफ्नो वेवसाइट मार्फत आव २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गरेका थिए। मौद्रिक नीतिमा शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने व्यवस्था उल्लेख थियो।
वेवसाइटमार्फत मौद्रिक नीति सार्वजनिक हुनासाथ शेयर बजार द्रुत गतिमा बढ्न थाल्यो । करिब साढे १ बजेसम्ममा नेप्से परिसूचक २० अंकको हाराहारीमा बढिरहेकोमा मौद्रिक नीतिमा शेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने व्यवस्था भन्ने सूचना पाउनासाथ बजार अर्को ४३ अंकले बढ्यो । बजार बन्द हुने बेलासम्म ६३ अंकले बढेर बन्द भयो । नेपाल राष्ट्र बैंकले बजार सकेपछि ३ बजे पत्रकार सम्मेलन आयोजना गर्यो । पत्रकार सम्मेलनमा भने गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जा प्रवाह गर्दा ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १ सय प्रतिशत रहने व्यवस्था परिमार्जन गरिएको जानकारी दिए।
लगानीकर्ताहरुले जोखिमभार सम्बन्धी व्यवस्था १ सय ५० प्रतिशतबाट परिमार्जन भएर १ सय प्रतिशत हुने आशा गरेकोमा त्यसको विपरित भएको जानकारी पाएपछि लगानीकर्ता असन्तुष्ट रहे । नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले घुमाउरो भाषा प्रयोग गरी लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेर धितोपत्र बजारलाई निरुत्साहित बनाएको प्रतिक्रिया फेसबुकमार्फत सार्वजनिक गरिन् । पत्रकार सम्मेलनपछि धेरै दिग्गज लगानीकर्ताले राष्ट्र बैंकले कारोबार समयमा मौद्रिक नीति सार्वजनिक गरेर बजार प्रभावित पार्ने काम गरेको आरोप लगाए ।
सोमबार बजार खुल्लासाथ द्रुतगतिले घट्यो । आइतबार ६३।२४ अंकले बढेर २२२७।१६ विन्दुमा बन्द भएको बजार २२ सय भन्दा पनि मुनि झर्यो । निकै नै उतार चढावयुक्त रहेको आइतबारको बजार अन्तमा २२००।५० मा बन्द भयो ।
बजार घट्दा लगानीकर्ताले ३९ अर्ब १८ करोड २१ लाख घाटा खाएका छन् । आइतबार नेप्से परिसूचक बढ्दा बजार पुँजीकरण ३२ खर्ब ७२ अर्ब ८८ करोड ९४ लाख रहेकोमा बजार घट्दा सोमबार ३२ खर्ब ३३ अर्ब ७० करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ।
कारोबार समयमा मौद्रिक नीति सार्वजनिक हुँदा शेयर धितो कर्जा पुनरावलोकन हुने भनेपछि बजार बढ्यो । त्यसमा पनि आधारभूत रुपमा बलिया मानिएका बैंकहरु नै धेरै बढे । वास्तवमा शेयर धितो कर्जा खुकुलो हुने बुँदा थपिएपछि नै बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका थिए । कारोबार सकिनासाथ ५० लाख रुपैयाँको शेयर कर्जामा मात्रै जोखिम भार १ सय प्रतिशत हुने सार्वजनिक भएपछि भने आइतबार कारोबार घटेको लगानीकर्ताको बुझाई रहेको छ ।
सोमबार बजार धेरै घट्नुमा बैंककै योगदान धेरै देखिन्छ । मौद्रिक नीतिमार्फत शेयर धितो कर्जा ऋण खुकुलो होला भन्ने अपेक्षा थियो । बैंकहरु आधारभूत रुपमा बलिया कम्पनीहरु भएको हुँदा धेरै लगानीकर्ताले बैंकको शेयरलाई धितोको रुपमा प्रयोग गर्ने गर्दछन् । बैंक कम भोलाइटाइल शेयर हुनाले यसमा दीर्घकालीन लगानी गर्ने गरिन्छ । ‘धेरै ऋण नपाइने राष्ट्र बैंकले स्पष्ट पारेपछि भने बैंकको शेयर आपूर्ति बढेको हो ।’– नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालले भने।
शेयर कारोबार समयमा मौद्रिक नीति सार्वजनिक गरेको धेरै लगानीकर्ताले रुचाएको देखिएन । अझ कतिले त राष्ट्र बैंककै कारण लगानीकर्ताले घाटा खानु परेको आरोप लगाए । ‘शेयर कारोबार चलिरहेको समयमा राष्ट्र बैंंकले मौद्रिक नीति सार्वजनिक गरेको राम्रो होइन । राष्ट्र बैंक पदाधिकारीले यो विषयमा ख्याल गरेको जस्तो देखिएन ।’–इन्भेष्टर्स फोरमका अध्यक्ष ढकालले भने । कारोबार समयमै मौद्रिक नीति सार्वजनिक गर्नु पूर्वको बैठक सकियो । बैठक सकिनासाथै मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने हुन्छ । बैठक सकिनासाथ पत्रकार र लगानीकर्ताको निरन्तरको सोधपुछले समस्या भएर सार्वजनिक गरेको जस्तो देखियो । वास्तवमा आइतबार बिहानै वा कारोवार समयमै पनि बैठक बसेर कारोबार समय पछि सार्वजनिक गरेको भए राम्रो हुने अध्यक्ष ढकालले बताए । नेप्सेमा सुचीकृत भएका कम्पनीहरुले कारोबार समयमा बैठक बसेर कुनै सूचना सार्वजनिक गरेको भए नेप्सेले कारवाही गर्ने थियो तर राष्ट्र बैंक आफै वित्तीय क्षेत्रको नियामक निकाय भएकोले उसलाई कसले कारवाही गर्ने रु ‘यस्तो विषयमा धेरै कमेन्ट गरिराख्नु भन्दा पनि आगामी दिनमा यस्तो गल्ती नहोस् भनेर राष्ट्र बैंक आफै सचेत हुनुपर्छ जस्तो मलाई लाग्छ ।’–उनले भने ।
सोमबार बजार घट्नुको मुख्य कारण नै राष्ट्र बैंकले शेयर धितो कर्जामा लाग्ने जोखिम भार १ सय प्रतिशत कायम रहेको सीमा मात्रै थोरै बढ्नु नै रहयो । पत्रकार सम्मेलनमार्फत ५० लाख रुपैयाँसम्मको शेयर कर्जामा मात्रै जोखिम भार १ सय प्रतिशत र त्यो भन्दा माथिको कर्जामा भने १ सय ५० प्रतिशत नै जोखिम भार कायम नै रहेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले सार्वजनिक गरेका थिए। तर लगानीकर्ताहरु भने मौद्रिक नीतिमा स्पष्ट नलेखिएको र सर्कुलर पनि नआएको अवस्थामा दुविधामा रहेको देखियो ।

