काठमाडौँ । शैक्षिकसत्र २०७९ को एसईई नतिजा अव केहीवेरमा सार्वजनिक हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को कार्यालयमा बैठक जारी छ ।
बैठकमा सहभागी बोर्डका एक सदस्यले अब केहीबेरमा सिस्टममा हेर्न मिल्ने गरी नतिजा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए । नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो । बुधबार बैठक बसेर बिहीबार नतिजा सार्वजनिक गर्ने भनिएपनि बुधबार त्रुटि सच्याउन भन्दै बैठक बस्न सकेको थिएन ।
यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ ।
बोर्डले नतिजाबारे जानकारी दिन केही बेरपछि पत्रकार सम्मेलन गर्दै छ। एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो। परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए।
जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार ६ सय ७४ जना थिए । कक्षा नौदेखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

