काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताएका छन्।
बिहीबार भक्तपुरमा पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताए।
उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमा अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने बताए। उनले देशमा भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको बताए।
‘हामीले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजाने एउटा न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित बनेको हाम्रो पार्टी हो । देशमा चरम भ्रष्टाचारको जुन विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे खोज्नुपर्ने समय आएको छ’, उनले भने, ‘यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौँ। त्यसको अन्त्य गरी सुशासन दिने र हाम्रै कार्यकालमा सबैका लागि समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ। नेपाल बदल्ने संकल्पसहित हिँडेका अगुवाको पार्टी हो हाम्रो। पुराना र नयाँ भुल्काभन्दा फरक नेपाल समाजवादी पार्टी हो।’

