काठमाडौं । घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको दुई दिनअघि निधन भयो । दुर्घटनापछि उनी लगातार अचेत थिए । चालक थापाको मृत्युलाई लिएर अहिले सामाजिक सञ्जालमा लामिछानेका विरोधीहरूले यो दुर्घटना नभएर योजनाबद्ध हत्या भएको विभिन्न टीकाटिप्पणीहरू गरिरहेका छन् ।
एमालेका नेता महेश बस्नेतले समेत थुप्रै प्रश्नहरू उठाएका छन् । सामाजिक सञ्जालमा उनले एउटा अडियो क्लिप पनि सेयर गरेका छन्, जसमा सुनिने आवाज रवि लामिछानेका ड्राइभरको भएको दाबी गरिएको छ । घटनाको विषयमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले अडिओका विषयमा भने जानकारी नभएको बताएका छन् ।
दुर्घटना भए लगत्तै थापा अचेत भएका थिए । तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेज लगेर उनलाई भेन्टिलेटरमा भर्ना गरिएको थियो । भोलिपल्ट उनलाई एयर लिफ्ट गरी काठमाडौं ल्याएर मेडिसिटीमा राखिएको थियो । १५ दिनसम्म निरन्तर कोमामा रहेपछि उनको निधन भएको हो ।
मेडिसिटी अस्पतालका अनुसार यस अवधिमा उनी निरन्तर अचेत वा कोमाको अवस्थामा थिए । कोमामा रहेका बिरामीले त्यसरी बोल्न सक्ने सम्भावना नै नहुने अस्पताल स्रोत बताउँछ ।
चितवन प्रहरीले थापा घरको छतबाट कसरी खसे भन्नेबारे अनुसन्धान जारी राखेको छ । अढाई तल्ले घरको माथिल्लो तल्लामा रहेको कोठामा रास्वपा महामन्त्री डा. मुकुल ढकालका सवारी चालकसँगै थापा सुतेका थिए । उनीहरू दुवैले सुत्नुअघि मदिरा सेवन गरेको पुष्टि भएको छ ।
प्रहरीले घटना भएको दिन उनीसँग सुतेका डा. ढकालका चालकसहित केहीको पोलिग्राफसमेत लिएको छ । जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले अहिलेसम्मको अनुसन्धानमा दुर्घटनाजस्तो देखिएको बताए ।
घटना भएको रात रवि र उनको परिवार अढाई तले घरको भुईँ तलामा सुतेका थिए । रास्वपा केन्द्रीय सदस्य दीपक बोहरा र उनको परिवार पहिलो तलामा रहेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले आवश्यक परे रवि लामिछाने र दीपक बोहराको पनि पोलिग्राफ लिइने तर अहिले त्यो अवस्था नदेखिएको जनाएको छ ।

