काठमााडौं । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने निश्चित भएको छ। विश्वासको मत प्रयोजनका लागि सभामुख तुलाराम घर्तीले मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरेका छन् ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिन सकिने व्यवस्था छ । मुख्यमन्त्री चौधरीले प्रदेशसभा सचिवालयमा आइतबार बिहान १० बजे नै पत्र दर्ता गराएको र मंगलबारका लागि विश्वासको मत लिने तयारी गरिरहेको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने गरी मंगलबार ११ बजे प्रदेशसभाको बैठक बोलाइएको बताए ।
दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरी बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार मुख्यमन्त्री चौधरी र अन्य तीन विनाविभागीय मन्त्रीले शपथ लिएका थिए । मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि नियुक्त मन्त्रीको जिम्मेवारी र अन्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी मुख्यमन्त्री चौधरीको छ । शुक्रबार नै मन्त्री बनेका माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
मुख्यमन्त्री चौधरी कांग्रेससहितका ८ दल र १ जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । लुम्बिनी प्रदेशमा यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारले मन्त्रालयको संख्या घटाएर १० बनाएको छ । सरकारलाई समर्थन गर्ने धेरै दल भएको र सबै दलबाट मन्त्रीका आकांक्षी रहेकाले मुख्यमन्त्री चौधरी सबैलाई सहमत गराएर मन्त्रिपरिषद् विस्तार गर्ने दबाबमा छन् ।
सत्ता गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीले क्रमशः ४ र ३ मन्त्रालय लिने सहमति गरेका छन् । बाँकी ३ मन्त्रालयमा साना ४ दललाई मनाउन कठिन देखिन्छ । ४ प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति र ३ सदस्य रहेको लोसपाबाट मन्त्री बनिसकेका छन् । जनमत र जसपाबाट यसअघि पनि गिरी नेतृत्वको सरकारमा सहभागी भएका कारण उनीहरुले पहिलेकै मन्त्रालय दाबी गरिरहेका छन् । त्यसले कम्तीमा १ मन्त्रालय थप्नै पर्ने दबाबमा मुख्यमन्त्री छन् ।
कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले साना सबै दलबाट पनि मन्त्रीका आकांक्षी भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गठबन्धनभित्र छलफल जारी रहेको र विश्वासको मत पछि सबै टुंगो लाग्ने बताए । ‘सरकारले पहिला विश्वासको मत लिने तयारी गरिरहेको छ,’ उनले भने, ‘त्यसपछि मात्र मन्त्री र मन्त्रालयको विषयमा छलफल गरेर सरकार अघि बढ्ने छ ।

