पोखरा — पोखराबाट चिनियाँ सहरमा सिधा उडानको लागि पहल गरिदिन पर्यटन व्यवसायीले नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्सँग आग्रह गरेका छन् । मंगलबार पोखरा पर्यटन परिषद्को नेतत्वमा राजदूतावास पुगेर व्यवसायीले अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
राजदूतसँगको भेटमा परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले चिनियाँ लगानीमा निर्माण भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउँदा द्विपक्षीय सम्बन्ध झनै सुदृढ हुने बताए । ‘राजदूतावासले चिनियाँ सहर र पोखराबीच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न कूटनीतिक पहल लिँदा यहाँको पर्यटन, उद्योग र व्यापारलाई सहयोग पुग्नै छँदैछ, चिनियाँ लगानीले पनि सार्थकता पाउँछ,’ उनले राजदूतसँग भने ।
दुई देशबीच छलफल गरेर तीन वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खोल्न पनि टोलीले राजदूतको ध्यानाकर्षण गरायो । चिनियाँ राजदूतावासले निकट भविष्यमै पोखरामा आयोजना गर्ने ड्रागन डुंगा दौडलाई पोखराले भरपूर सहयोग गर्ने व्यवसायीले प्रतिबद्धता जनाए । व्यवसायीको आग्रहलाई राजदूत छन् सोङले सकारात्मक रुपमा लिँदै आवश्यक पहलको लागि भूमिका निर्वाह गर्ने बताएका थिए ।
परिषद्ले नेतृत्व गरेको टोलीमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, सल्लाहकार विप्लव पौडेल,रेस्टुरेन्ट एन्ड बार एसोसियन नेपाल ९रेवान० पोखराका अध्यक्ष नरेश भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, पोखरा महानगरका कार्यवहाक प्रमुख मोतीराज तिमिल्सिना, पोखरामा रहेका चिनियाँ व्यवसायी लगायत सहभागी थिए ।
गत पुस १७ मा उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा पर्यटनमा भएको लगानी जोखिममा परेको व्यवसायीले बताउँदै आएका छन् । परिषद्कै नेतृत्वमा केही साताअघि व्यवसायीले प्रधानमन्त्री, अर्थमन्त्री र पर्यटनमन्त्रीलाई भेटेरै अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका थिए । व्यवसायीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत र चीन भ्रमणको क्रममा पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताएका थिए ।

