वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
यसरी प्रहरी र स्थानीयबीच झडप हुँदा मिर्चैया तनावग्रस्त
Prabhu Bank AD

 

सिरहा । नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा बिहीबार सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ । बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्नेलगायत माग गर्दै हनुमान चोकबाट स्थानीय व्यापारीहरूको जुलुस साढे ११ बजे नगरपालिका कार्यालय पुगेको थियो ।

प्रदर्शनकारीहरुले आफूहरूले उठाएका विषयको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो ।

तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाईफायर, ११ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । झडपका क्रममा पाँच प्रहरी घाइते भएको उनले जानकारी दिए । प्रदर्शनकारीको ढुंगा प्रहारबाट मेयर श्रवण यादव चढ्ने गाडीको सीसा फुटेको छ ।

प्रदर्शनकारीले प्रहरीले घर घरमा गएर कुटपिट गरेको आरोप लगाएको छ । घरभित्र प्रवेश गरी कुटपिट गर्दा संगीताकुमारी साह घाइते भएको उनका पति अञ्जय साहले बताए । कुटपिटबाट घाइते संगीताको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

उनका अनुसार प्रदर्शनका क्रममा प्रहरीको कुटाइबाट दिनेशकुमार यादव घाइते भएका छन् । टाउकोमा चोट लागेका यादवको स्थानीय मंगलम् अस्पतालमा उपचार भइरहेको साहले जानकारी दिए । मिर्चैया बजार तनावग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

गत चैत २७ गतेदेखि संघर्षमा उत्रिएका उनीहरूले बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्नेलगायत माग गर्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

मिर्चैया नगरपालिकाले साविक गाविस रामनगर(२ ९क० कित्ता नम्बर २५६ र २ ९क० कित्ता नम्बर ६० को जग्गामा बनेका संरचना नेपाल सरकारको जग्गामा रहेको भन्दै करिब तीन दर्जन घर माघ २७, फागुन ११ र १९ गते तोडफोड गरी भत्काएको थियो । कित्ता नम्बर २५६ र ६० अहिले नगरपालिकाको ५ नम्बर वडामा पर्छ । नगरपालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको कदमले बेघर बनेको, व्यापार–व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेकोलगायत दुखेसो पीडितहरूको छ ।

सडक विस्तारमात्र होइन, नगरपालिकाले सडकमै नपरेको बजार क्षेत्रको १७ घरधुरी बहाल बिटौरी, ऐलानी जग्गा भएको भन्दै भत्काइदिएको उनीहरूको दाबी छ । कित्ता नम्बर २५६ को ३ बिघा १२ कठा १७ धुर जग्गा र २ ९क० को कित्ता नम्बर ६० को २ कठा ५ धुर जग्गामा रहेका घर भत्काएको थियो । मिर्चैया बजारमा भत्काइएको ती घरमा व्यापारिक पसल सञ्चालित थिए ।

मिर्चैया स्थापना हुनुभन्दा अघि जंगल नै रहेका बेला बजार लगाउन आफूहरूलाई यहाँ बसोबास गराएको भए पनि अहिले आएर नगरपालिकाले उठीबास गराएको उनीहरूको गुनासो छ । त्यही बसोबास गरेको जग्गा २००४ साल र २०२५ सालमा नै व्यक्तिको नाउँमा नापी र मालपोतमा दर्ता गराएको र पुर्जामा स्पष्ट गाउँ नै लेखिएको प्रमाण रहेको उनीहरुको दाबी छ ।

Prabhu Bank AD

सम्बन्धित खवर