काठमाडौँ । चीनले नेपालमा ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) अन्तर्गतको कार्यक्रमलाई अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले मंगलबार ‘द स्माइलिङ चिल्ड्रेन स्कुल फिडिङ’ कार्यक्रम सुरु गरेका हुन् ।
चिनियाँ राजदूत छन्ले उक्त कार्यक्रम सुरुआत गर्न पाउँदा खुसी लागेको बताएका छन् । ‘म चाइना फाउन्डेशन फर रुलर डेभेलपमेन्ट (सीएफआरडी)को प्रयास र समर्पणका लागि धन्यवाद दिन्छु,’ राजदूत छनले ट्वीटमा उल्लेख गरेका छन्, ‘४७ विद्यालयका ९ हजार २१६ बालबालिका यो कार्यक्रमबाट लाभान्वित भइरहेका छन् । बालिबालिकाको हँसिलो अनुहार सबैभन्दा सन्तुष्टि कुरा हो ।’
गत वर्षको चैत २४ मा बेइजिङमा भएको नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा जीडीआईलाई कार्यान्वयन गर्ने विषयमा दुवैपक्ष बीच कुराकानी भएको थियो । बैठकपछि बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा संयन्त्रले जीडीआईको कार्यान्वयन सम्बन्धमा छलफल भएको उल्लेख छ । संयन्त्रको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसहित दूतावासका अन्य पदाधिकारी नेपालको तर्फबाट सहभागी थिए । चीनको तर्फबाट उपविदेशमन्त्री सुन विइतोङले टोलीको नेतृत्व गरेका थिए ।
सन् २०२१ सेप्टेम्बरमा भएको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सी चिनफिङले जीडीआईबारे पहिलो पटक प्रस्ताव गरेका थिए । जीडीआई परियोजना संयुक्त राष्ट्र संघको सन् २०३० को दीर्घकालीन विकास लक्ष्यलाई पूरा गर्न परिपूरकको भूमिका खेल्ने गरी अघि बढाइएको छ । त्यहीअनुसार संयुक्त राष्ट्र संघको सहकार्यमा चीनले यसलाई कार्यान्वयनमा लगेको छ । संयन्त्रको बैठकमा दुवै पक्षले संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय मञ्चहरूमा दुई देशबीचको सहकार्य र एकअर्काको उम्मेदवारीमा पारस्परिक सहयोग आदान–प्रदानको समीक्षा गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले संयुक्त राष्ट्र दिगो विकास लक्ष्यहरूको कार्यान्वयनको महत्व र दिगो विकासका लक्ष्य ९एसडीजी० एजेन्डा प्रवर्द्धन गर्न जीडीआईको उपयोगिताबारे पनि छलफल गरे ।
नेपालले यो अन्तर्गत दुई परियोजना पाएको छ । नेपालमा खाद्य सुरक्षा र गरिबी निवारणका क्षेत्रमा उक्त दुई परियोजना छन् । खाद्य सुरक्षामा ‘नेपाल स्माइलिङ् प्रोजेक्ट’ हो । अर्को गरिबी निवारणसम्बन्धी परियोजना दुर्गम भेगका विद्यालय र समुदायमा महामारी रोकथाम तथा पुनस्स्थापनासम्बन्धी हो ।
सन् २०२२ को सेप्टेम्बरमा न्यूयोर्कमा यूएनको महासभामा सहभागी हुने दौरानमा चीनका तत्कालीन विदेशमन्त्री वाङ यीले नेपाललगायत ५० मुलुकमा जीडीआईअन्तर्गत सञ्चालन हुने कार्यक्रम रहेको उल्लेख गरेका थिए । त्यस बेला चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिमा जीडीआईअन्तर्गत नेपालमा हुने पहिलो परियोजना ‘नेपाल स्माइलिङ् प्रोजेक्ट’ रहेको उल्लेख गर्दै नेपालका विपन्न समुदायका ३६ सय बालबालिकालाई खाद्यान्य उपलब्ध गराउने उल्लेख छ ।
चिनियाँ गैरसरकारी संस्था चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टले खाद्यान्नको व्यवस्था मिलाउने भनिएको छ । चीनका दुई सरकारी निकाय चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी र चिनियाँ वाणिज्य मन्त्रालय उक्त परियोजना कार्यान्वयन गर्ने मुख्य निकाय हुन् । उक्त पहिलो परियोजना नेपालमा अघि बढिरहेको छ । २०७९ को असारमा नेपाल भ्रमणका बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्छाओले काठमाडौंको शान्ति निकुञ्ज विद्यालयका विद्यार्थीहरुलाई खाना खुवाएर ‘नेपाल स्माइलिङ प्रोजेक्ट’ को उद्घाटन गरेका थिए । त्यसपछि मंगलबार पनि राजदूत छन्ले मन्त्री शर्मासहित फेरि उद्घाटन गरेका हुन् ।


