काठमाडौँ । जनता आवास कार्यक्रम सुरु भएको १३ वर्ष बितिसक्दा अझै निर्माणको काम सफल हुन सकेको छैन । लामो समयसम्म पनि आवास निर्माणको काम पूरा नभएपछि महालेखा परिक्षकको कार्यालयले उक्त कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएको छ ।
गरिब, पिछडिएका एवं सीमान्तकृत वर्गलाई आवास सुविधा उपलब्ध गराउने लक्ष्य अनुसार सरकारले आर्थिक वर्ष ०६६ र ६७ देखि जनता आवास कार्यक्रम सुरु गरिएको थियो । यस कार्यक्रममा आर्थिक वर्ष ०७४ र ७५ सम्म ५५ हजार ९७० आवास निर्माणको लक्ष्य तोकिएकोमा १७ हजार ३९ आवास एकाइको निर्माण सम्पन्न भई ५ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ ।
यो कार्यक्रम आर्थिक वर्ष ०७५ र ७६ देखि प्रदेश सरकारमा हस्तान्तरण भएको छ । सहरी विकास तथा भवन विभागले पेस गरेको आर्थिक वर्ष ०७८ र ७९ को विवरण अनुसार कार्यक्रम सुरु भएको १३ वर्ष बित्दा ३६ हजार ३२५ आवास एकाइको मात्र निर्माण सम्पन्न भएको छ भने अझै १९ हजार ६४५ आवास निर्माण हुन सकेको छैन ।
भवन विभागले ०७५ र ७६ देखि निर्धारित लक्ष्य र खर्चको विवरण समेत अद्यावधिक नगरेको पाइएको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । ‘आवास निर्माणको काम समयमा सम्पन्न नहुँदा लाभग्राहीहरू थप समस्यामा परेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘तोकिए बमोजिम लक्षित समुदायलाई आवास सुविधा उपलब्ध गराउने कार्य समयमै सम्पन्न हुनुपर्छ ।’


