काठमाडौँ । निजामती अस्पताल (सिभिल अस्पताल) ले आवश्यकता पहिचान नै नगरी वर्षेनि खरिद गरेका करोडौं मूल्यका स्वास्थ्य मेसिनरी उपकरण प्रयोग नै नगरी थन्क्याएर राखेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनमा खरिद गरेका मेसिनरी उपकरण सञ्चालनमा नभएको, मेसिन जडान नै नभई भुक्तानी दिएको, स्पेसिफिकेसन नै नहेरी उपकरणहरु खरिद गरेको, ग्यारेन्टी समय पूरा भइसक्दा पनि उपकरण सञ्चालनमै नल्याएको, अस्पतालको कार्यविधि मिचेर फार्मेसी चलाएको, टेण्डर गरेर पनि जटिल रोगका औषधि खरिद नगरेको, रेडियोथेरापी भवन निर्माणमा अनियमितता गरेको र स्वास्थ्य सेवा प्रवाहमा बेवास्ता गरेको उल्लेख छ ।
सरकारी अनुदान र बिक्री तथा सेवा शुल्कबाट चलेको अस्पतालले स्वास्थ्य सेवा प्रभावकारी रुपमा सञ्चालन नगरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८र०८९ को लेखा परीक्षणले अस्पतालले आवश्यकता र औचित्य पुष्टी नगरी राजस्वको रकम खर्च गरेको देखाएको छ ।
महालेखाको प्रतिवेदन अनुसार २०७६ वैशाखमा ३३ लाखमा खरिद गरेको सर्जरी मेसिन, २०७७ असारमा ७७ लाखमा खरिद गरेको हेमोडाइलासिस मेसिन विथ रो प्लन्ट, २०७८ भदौमा १ करोड ८३ लाखमा खरिद गरेको भेन्टिलेनर पेड, स्वास्थ्य विभागबाट उपलब्ध भेन्टिलेटर पेड, २०७८ माघमा खरिद गरेको इण्डोस्कोपी सिस्टम, २०७९ वैशाखमा १ करोढ ९९ लाखमा खरिद गरेको रिलेटिम डोजिमेट्री एण्ड एचडी भिडियो ब्रोङस्कोप सिस्टम र २०७९ असारमा ९ लाख ८३ हजारमा खरिद गरेको इन्फ्यूजन पम्प प्रयोग गरेको छैन । प्रतिवेदनमा खरिद गरेको सामान प्रयोगविहीन बनाएर अस्पतालले अनुचित काम गरेको ठहर गरेको उल्लेख छ ।
अस्पतालले ६ महिनाभित्र आपूर्ति गर्ने सर्तमा इक्मो सिस्टम खरिद सम्झौता गरेकोमा मेसिन जडान र सञ्चालन नै नभई १ करोड ७६ लाख ५० हजार भुक्तानी दिएको छ । मेसिन जडान र सञ्चालन नभइ दिएको भुक्तानी नियम संगत नदेखिएको ठहर प्रतिवेदनले गरेको छ । उक्त मेसिन गत पुससम्म जडान भएको छैन । स्रोतका अनुसार मेसिन परीक्षण गरेर मात्र दिनुपर्ने मापदण्ड मिचेर अगाडी नै भुक्तानी दिइएको छ । मेसिनको जडान र सञ्चालकलाई तालितमको व्यवस्था आयातकर्ताले नै गर्नुपर्ने सम्झौता भएको थियो । तर प्राविधिक तालिम, मेसिन जडान र प्रयोग नै नगरी भुक्तानी दिएका कारण महालेखाले अनुचित ठहर गरेको हो । खरिद सम्झौता अनुसार उक्त मेसिन २०७८ फागुनमा उपलब्ध हुनुपर्नेमा २०७९ बैशाखमा मात्र अस्पतालमा प्राप्त भएको थियो । मेसिन उपलब्ध भएपनि सञ्चालन नभएपछि खरिद सम्झौता अनुसार रकम भुक्तानी दिएको देखिएको छ ।
अस्पतालले सुगर सिक्वेन्सिङ एण्ड फर्गमेन्ट एनालाइसीस मेसिन आपूर्तिकर्तालाई २ करोड ११ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ । तर मेसिन सञ्चालन भएको छैन । अस्पतालले आयातकर्तालाई गत २०७९ असोजसम्ममा मेसिन सञ्चालन गर्न आदेश दिएको थियो । उक्त निर्देशन पालना भएको छैन । अस्पतालले लो टेम्पेरेचर प्लाज्मा इष्टेरीलाइजर मेसिन स्पेसिफिकेसन भन्दा फरक खरिद गरेको छ । १ करोड ३० लाख ९५ हजारमा खरिद गरेको उक्त मेसिनको टेण्डरमा तीन वटा फर्म मात्र सहभागी भएका थिए । खरिद सम्झौतामा उल्लेख भएको स्पेसिफिकेसन भन्दा फरक मेसिन खदिर गरेको प्रतिवेदनमा उल्लेख छ । महालेखाले भनेको छ, ‘प्राविधिक स्पेसिफिकेसनसँग मेल नखाने गरी सामान खरिद गर्न मिल्दैन ।’
अस्पतालले सञ्चालन गरेको फार्मेसीको वित्तीय व्यवस्थापन कमजोर रहेको भन्दै सरकारले जारी गरेको निर्देशिकाको पलाना नगरेको प्रतिवेदनमा उल्लेख छ । सरकारले जारी गरेको फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार अस्पताल फार्मेसी निर्देशिका २०७८ बमोजिम सञ्चालित फार्मेसीको आयव्यय, नाफा नोक्सान, खरिद तथा बिक्री परिणामको सन्तुलन नभएको महालेखाले ठहर गरेको छ ।
खासगरी नाफाको ९० प्रतिशत रकम अस्पतालको कोषमा राख्नुपर्ने फार्मेसीको छुट्टै बैंक खाता हुनपर्नेलगायत वित्तीय व्यवस्थापन अपारदर्शी भएको प्रतिवेदनमा उल्लेख छ । ुनिर्देशिकामा यी सबै विषयको व्यवस्थापनका लागि प्रष्ट मापदण्ड तोकिए पनि त्यसको पालना नगरेको देखिएको छ,ु प्रनिवेदनमा उल्लेख छ । टेण्डर गरेर पनि क्यान्सर, उच्च तहको एन्टिबायोटिक, मुटु, उच्च रक्तचापलगायत महत्त्वपूर्ण औषधि खरिद नगरी सेवा प्रवाहमा असहज बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘सेवा तथा लागत लाभको आधारमा अस्पतालको फार्मेसी सञ्चालन गर्नुपर्छ,’ महालेखाले भनेको छ ।
यस्तै कोभिड र अन्य रोगको उपचारका लागि सरकारले उपलब्ध गराएको ७ करोड खर्च नगरेर अस्पतालले दिने सुविधाबाट बिरामीलाई बन्चित गराएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली २०७७ को नियम ७९ को९३० अनुसार नि:शर्त बाहेक यस्तो रकम फिर्ता गर्नुपर्छ । तर अस्पतालले उक्त रकम फिर्ता नगरेको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद नियमावलीको नियम २१२ बमोजिम रेडियोथेरापी भवन निर्माणका क्रममा ठेकेदारबाट जरिवाना वापत करिब ५६ लाख ६६ हजार उठाउन बाँकी रहेको छ । उक्त रकम उठाउनुपर्ने सुझाव दिइएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक विधान निधि पौडेलले भने महालेखाले उठाएका धेरै विषय जायज भए पनि समाधान भइसको दाबी गरे । ‘केही समस्या पक्कै थियो । तर धेरै विषय टुंगिसकेको छ,’ ‘कार्यकारी निर्देशक पौडेलले भने, ‘कतिपय विषय त समाधानको चरणमा छन् ।’
अस्पतालले सञ्चालन गरेको फार्मेसीमा भने अझै समस्या रहको स्वीकार गर्दै निर्देशक पौडेलले विगतमा भएका कमजोरी हटाएर निर्देशिका बमोजिम सञ्चालन गर्न गृहकार्य भइरहेको बताए । उनले केही मेसिन सञ्चालन गर्न बाहिरबाट सामान मगाउनुपर्ने भएकाले समय लागेको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको उक्त अस्पताल विकास समितिको अध्यक्ष मुख्यसचिव हुने प्रावधान छ ।

