बारा । बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा मधेस प्रदेशको बारा क्षेत्र २ मा जम्मा ३६ उमेदवारहरुले उमेदवारी दिएका छन् । तर चुनावी प्रतिस्पर्धामा भने डाक्टर सिके राउतका पार्टी जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहा र जसपाका अध्यक्ष उपेन्द्र यादव बीच रहने निश्चित देखिएको छ ।
जसपाले बारा २ बाट निर्वाचित रामसहायक यादवलाई उपराष्ट्रपतिमा लगेपछि उपेन्द्र यादवले आफू यस क्षेत्रबाट चुनाव जितेर सरकारमा जाने मनसाय बनाएको देखिन्छ । सप्तरीमा सिके राउतबाट भारी मतले पराजित भएका उपेन्द्र यादव बाराबाट जितेर आफू सरकारमा गएर मन्त्री बन्ने दाउमा छन् । तर पार्टीबाट निर्वाचित सांसदहरुलाई राम्रो मन्त्रालय दिलाउने पहल समेत गरेको देखिदैन ।
यसपटक देशका सबै ठूला गठबन्धन दलहरुले उपेन्द्र यादवलाई चुनाव जिताउने कसरतमा छन् । तर बारा २ का जनता गठबन्धन दलहरूका विरुद्धमा छन् । स्थानीय रामकुमार यादव भन्छन्, म नेपाली काँग्रेस समर्थ हो । तर यसपटक पार्टीले जतिसुकै उर्दी जारी गरे पनि भोट हामी सिके राउतकै जनमत पार्टीलाई दिने सहमति गरेका छौ । यसपटक हामी पार्टीभन्दा माथि उठेर जनमत पार्टीलाई भोट दिन्छौं । पार्टीहरुले गठबन्धनको नाममा हामी कार्यकर्ताहरुलाई ठग्ने काम गर्दै आएको छ । त्यसैले यसपटक हामी पार्टीलाई ठगेर देखाई दिने बताए ।
यस्तै आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा तत्कालीन जसपाका एकजना केन्द्रीय नेता भन्छन्, उपेन्द्र यादव पटकपटक मधेसीको नाममा उपप्रधानमन्त्री र मन्त्री बने तर मधेसी जनतालाई उसले केही दिन सकेन । मन्त्री बन्नैलाइ २६ जिल्लाको मधेसलाई ८ जिल्लामा झारेर मधेस प्रदेशमा सहमति गरे । मधेस सरकार एकलौटी चलाउँदै आएको छ तर एउटा पनि मधेसमा विकासको काम गरेन । मधेस सरकार भ्रष्टाचारले ग्रसित बनाए । साइकल काण्ड, बिमा काण्ड, बेटीबचाउ बेटी पढाउ काण्ड, पपु ठेकेदार काण्ड, विभिन्न किसिमको विधालय, अस्पताल, सडकहरु धमाधम उद्घाटन गरेर सबै अलपत्र अवस्था छन् । उपेन्द्र यादवले सर्वसाधारण नागरिकको हकमा एउटा पनि काम गरेको उदाहरण छैन् । स्थानीय चुनावमा आफ्नो छोराको लागि ६ वटा जित्ने पालिका काँग्रेसलाई दियो । आफ्नो छोरालाई मात्र जिताउन पार्टीका दर्जनौं नेताकार्यकर्तालाई अवसरबाट बन्चित गरे । अनावश्यक रुपमा बाराको जनतामा झुठो भ्रम सृजना गरेर आफू चुनाव जित्न खोजेको उसले बताए ।
अर्को एकजना स्थानीय बुद्धिजीवी रामकुमार महतोका अनुसार, उपेन्द्र यादवलाई पाँच वर्षको लागि जनताले आफ्नो पार्टी संगठन निर्माण गर्न र आत्मसमिक्षा गर्न ठूलो अवसर दिएको थियो । तर उपेन्द्र यादव सता सरकारको ठूलो लाल्ची रहेछ । यादव काँग्रेस, एमाले र माओवादी धारको राजनीतिमा वर्गउत्थान गरिसकेको हुँदा मधेसी जनताले विकल्पको रुपमा जनमत पार्टीका सिके राउतलाई अगाडि बढाउने निश्चित भएको बताए ।
बारा २ को जनता यतिबेला तीन भागमा बाँडेको छ । सिके राउत, उपेन्द्र यादव र अन्य । यादव बाहुल्यता रहेको यस क्षेत्रमा केही विचारक यादवहरु सिके राउतकै पक्षमा छन् । तर केही यादव समुदाय उपेन्द्र यादव आफ्नो जातीय गौरव रहेकोले उसलाई नै भोट दिएर पठाउने पक्षमा छन् । त्यसपछि अन्य समुदाय डाक्टर सिके राउतको पार्टी जनमतको उमेदवारलाई नै भोट दिने मनसायमा छन् । केही छिटफूटरुपमा अन्य उमेदवारहरुलाई पनि भोट बाँडिने देखिन्छ । यसरी उल्लेखित आधारमा विश्लेषण गर्ने हो भने सिके राउतको जनमत पार्टीको पक्षमा ४५ प्रतिशत, उपेन्द्र यादवको पक्षमा ३० प्रतिशत र अन्य उमेदवारको पक्षमा २५ प्रतिशत भोट जाने देखिन्छ । यसपटक पनि उपेन्द्र यादव हार्ने र सिके राउतको पार्टी जनमतका स्थानीय उमेदवार जित्ने करिब निश्चित देखिन्छ । कुशवाहा यस अघिको निर्वाचनमा पनि उपराष्ट्रपति रामसहायक यादवसँग झिनो मतले मात्र पराजित भएका थिए ।

