वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
१३ सामुदायिक विद्यालयमा हजार र ८९ सामुदायिक विद्यालयमध्ये आठमा सय
Prabhu Bank AD

 

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमध्ये १३ वटामा मात्रै एक हजारभन्दा बढी विद्यार्थी छन् । काठमाडौं महानगरपालिकाले तयार गरेको इन्टिग्रेटेड एजुकेसनल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम ९आइइएमआइएस० रिपोर्टअनुसार महानगरकाभित्रका ८९ सामुदायिक विद्यालयमध्ये एक दर्जन विद्यालयमा मात्रै एक हजारभन्दा बढी विद्यार्थी छन्, आठवटा विद्यालयमा त सयजना विद्यार्थी पनि छैनन् ।

यहाँका अधिकांश सामुदायिक विद्यालयमा तल्लो कक्षामा भन्दा माथिल्लो कक्षामा विद्यार्थी धेरै छन् । धेरैजसो विद्यालयमा १२ कक्षासम्मै अध्यापन हुने भए पनि एक हजार विद्यार्थी संख्या कटाउने निकै कम रहेको रिपोर्टमा उल्लेख छ । आइइएमआइएस रिपोर्टअनुसार आठ विद्यालयमा एक सयभन्दा कम विद्यार्थी छन् ।

माथिल्लो कक्षामा बढ्दो संख्या

महानगरमा सबैभन्दा धेरै विद्यार्थी बाफलस्थित ज्ञानोदय माविमा छन् । यहाँ १२ कक्षासम्म चार हजार दुई सय एक विद्यार्थी अध्ययनरत छन् । यसैगरी, विश्वनिकेतन मावि त्रिपुरेश्वरमा पनि चार हजार एक सय ७८ विद्यार्थी छन् । चार हजारभन्दा बढी विद्यार्थी हुने काठमाडौं महानगरभित्रै यिनै दुई विद्यालय मात्रै हुन् । धेरै विद्यार्थी हुने तेस्रो स्थानमा बानेश्वरस्थित रत्नराज्य मावि रहेको छ, यहाँ दुई हजार दुई सय ८५ विद्यार्थी छन् ।

ज्ञानोदय माविमा १ कक्षामा एक सय विद्यार्थी छन् भने ९ कक्षामा चार सय ८२ विद्यार्थी भर्ना भएका छन् । १० कक्षामा पनि चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ११ कक्षामा ६ सय ४५ भर्ना भएका छन् ।

विश्वनिकेतन माविमा पनि माथिल्लो कक्षामा विद्यार्थी संख्या धेरै छ । १ कक्षामा ५४ विद्यार्थी भर्ना भएका छन् भने ९ कक्षामा तीन सय एक र १० कक्षामा दुई सय ७१ जना भर्ना भएका छन् । यसैगरी, ११ कक्षामा एक हजार एक सय ९६ र १२ कक्षामा एक हजार तीन सय एक विद्यार्थी अध्ययनरत छन् । रत्नराज्यमा १ कक्षामा ३९ विद्यार्थी छन् भने ९ कक्षामा दुई सय ९८ जना छन् । यसैगरी, कक्षा ९ मा तीन सय दुई र कक्षा ११ मा तीन सय ३१ विद्यार्थी भर्ना भएका छन् ।

धेरै विद्यार्थी भएका विद्यालयमा पनि कक्षा ९ पछि संख्या धेरै बढेको देखिएको छ । त्यस्तै, गीतामाता सेकेन्डरी स्कुलमा १ कक्षामा ९९ विद्यार्थी छन् भने ९ कक्षामा दुई सय ७३ र १० कक्षामा एक सय ९१ विद्यार्थी रहेको तथ्यांक छ ।

यसकारण माथिल्लो तहमा धेरै विद्यार्थी

पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतम भन्छन्— माथिल्लो कक्षामा धेरै हुनुको कारण अभिभावकमा सरकारी छात्रवृत्तिको लोभ

एक हजारभन्दा बढी विद्यार्थी रहेको पद्मोदय माविमा पनि तल्लाभन्दा माथिल्ला कक्षामा धेरै विद्यार्थी छन् । पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले अभिभावकको ‘अंग्रेजी मोह’ले सामुदायिक विद्यालयका प्राथमिक तहमा विद्यार्थी कम रहेको बताए । तर, छात्रवृत्ति पाइने आशामा माथिल्लो तहमा पुगेपछि भने भर्ना गर्ने गरेको उनको भनाइ छ । ‘अझै पनि सामुदायिकले प्रावि तहमा अभिभावको विश्वास जित्न बाँकी छ । अंग्रेजीमा बेस बनेपछि सामुदायिकमा ल्याउने गरेको पाइन्छ,’ उनले भने, ‘कतिपयले माथिल्लो तहमा छात्रवृत्ति पाइने कारणले ६ कक्षादेखि नै सामुदायिकमा ल्याउने गरेका छन् ।’ सामुदायिक विद्यालयमा ६ कक्षादेखि पढेकालाई माथिल्लो तहमा अध्ययनका लागि छात्रवृत्ति दिने सरकारको नीति छ ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले तल्लो तहमा विद्यार्थी कम र माथिल्लो तहमा बढी हुनुमा विविध कारण रहेको बताए । तल्ला कक्षामा अभिभावकले निजी विद्यालयमा पढाउन खोज्ने मानसिकता रहेको र आधारभूत तहमा पालिकाले अभिभावकको मन जित्ने गरी सुधारका काम गर्न नसकेको कारण हुन सक्ने बताए । अहिले काठमाडौं महानगरपालिकाले प्रारम्भिक बालविकासदेखि नै गुणस्तर सुधार सुरु गरेको बताए । मेडिकललगायतका उच्च शिक्षामा छात्रवृत्ति पाइने आशामा पनि ८ कक्षादेखि सामुदायिक विद्यालयमा पढाउन खोज्ने गरेकोसमेत पाइएको बताए । चिकित्सा शिक्षामा ८ कक्षादेखि सामुदायिकमा पढेका विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि सामुदायिकमा पढाउने गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर