वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
आधा बोरा फलको २९ लाख रुपैया, एउटै रूखको एक करोड मोलमोलाई
Prabhu Bank AD

 

काठमाडौँ । छ्याक्रयाक्क परेको रूखमा पातलो फलेका स–सना दाना । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा जोखिँदै छन् । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच रामेछापमा बढ्दो छ ।

बोधिचित्त लगाउनेले यति धेरै पैसा आउला भनेर सोचेका पनि थिएनन् । आफैंले पनि पत्याउन नसक्ने सपनामा जस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी रातारात लखपति हुँदै छन् ।‘मैले सोचेको पनि थिइनँ यति धेरै पैसा एउटै रुखको दानाले दिन्छ भनेर,’ आइतबार अपरान्ह आधाबोराजति बोधिचित्तको दाना बिक्री गरेर २९ लाख लिएका सुकाजोरका दुर्गाबहादुर श्रेष्ठले भने । श्रेष्ठले झन्डै तीस वर्षअघि उक्त रुख लगाएका थिए ।

दानाको महत्त्व र पैसा बुझेर नभै कान्लामा त्यसै घुसारेको रुखको कमाइ त्यसबेला ख्याल नै भएन । केही वर्ष अघिसम्म हाँगा काटेर बारको रूपमा प्रयोग गरे । जब दानाबाट पैसा आउँछ भन्ने थाहा पाएँ, त्यसबेलामा पनि मोल आएन । केही त्यतिकै खेर जाने गयो, बाँकी दुईचार माना सय दुई सयमा बिक्री गरे श्रेष्ठले ।चार वर्ष भयो बोधिचित्तको भाउ उम्लिएको । चार वर्षअघि श्रेष्ठले १० हजारमा भएजति सबै दाना बिक्री गरे । तीन वर्षअघि बढाएर ६० हजार लिए । अनि गएको साल ४ लाख हात लाए ।

४ लाख पाएपछि रौसिएका श्रेष्ठले यो साल २९ लाखको बिटो समाते । २९ लाख मूल्य पाउने दाना पुग९नपुग एक बोरा थिए । बाहिरी बोक्रो फाल्दा बिक्री हुने मुख्य दानाचाहिं आधा बोरा पनि हुँदैन ।गत वर्ष मझुवाका किसान धनबहादुर तामाङले एकै रुखबाट ३६ लाखको दाना बिक्री गरेका थिए ।
तामाङ बोधिचित्तबाट पैसा लिनेमा जिल्लामा अगुवा किसान हुन् । उनले २ वर्षअघि २३ लाख, ३ वर्षअघि १२ लाख र तीभन्दा अघिल्ला वर्षमा समेत लाखौं रुपैयाँ आर्जन गरेका थिए । यो वर्ष तामाङले लगाएको एउटै रुखमा फलेका बोधिचित्तका दानाको १ करोड मोलिएको छ ।

रुखमै आउने व्यवसायीलाई बिक्री गर्दा थोरै दाम आउने भएकाले उनले आफैं टिपेर बिक्रीका लागि काठमाडौंतिर लगेका छन् । उनले भनेको मोलमा बिक्री भएन भने पनि दानाबाट यो वर्ष कम्तीमा पनि ६० देखि ७५
लाख कमाउने उनको लक्ष्य छ ।
मझुवाकै किसान हिरा तामाङले मंगलबार दाना टिपे । उनले गत वर्ष २ लाखको दाना बिक्री गरे । तर यो वर्ष धनबहादुरकै हाराहारीमा पैसा लिनेमा उनी पर्छन् । उनको बारीमा झन्डै २० वटा रुखमा झपक्क दाना लागेका छन् ।
साना रुख भएकाले थोरैथोरै गर्दा पनि तयारी दाना १२ पाथी हुने अनुमान उनले गरेका छन् । आउने वर्षदेखि दाना दिनेखालका सयौं बिरुवा उनको बारीमा हुर्किंदै छन् । आगामी वर्षदेखि कम्तीमा १ करोड रुपैयाँ लिनेमा उनी पर्छन् । हिराको बगैंचामा फलेका बोधिचित्तका बिरुवा कुनै त यस्ता छन् जुनमा ६ मुखेसम्मका दाना निस्किएका छन् ।
६ मुखे एउटै दानाको एक लाखसम्म मोलमोलाइ हुने गर्छ ।मझुवा गाविसमा धेरैले बोधिचित्त लगाएका छन् । तर फलेका रुख भने थोरै छन् । आउँदो वर्षदेखि फल दिने खालका बिरुवा धेरै किसानकामा हुर्किंदै छन् । उक्त गाविसका हरेक घरमा बोधिचित्तका रुख लगाइएका छन् । कसैले पुरै जग्गामा लगाएका छन् ।

केही वर्षदेखि बोधिचित्तका बिरुवा हुर्काएर बिक्री गर्दै आएका मझुवाकै प्रकाश प्रधानका अनुसार मनग्यै पैसा आउन थालेपछि बिरुवाको माग ज्यादै बढेको छ । हरेक वर्ष उनले ७ देखि १० हजारसम्म बिरुवा बिक्री गर्छन् । प्रतिबिरुवाको १५ सय रुपैयाँसम्म पर्ने बोधिचित्तको बिरुवा मागबमोजिम पुर्‍याउन हम्मेहम्मे परेको प्रधानले बताए ।

बोधिचित्त बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप्ने मालाका रूपमा धेरै प्रयोग हुने गर्छ । १ सय ८ वटा दाना भएको मालामा यसको प्रयोग बौद्धधर्मावलम्बीहरूले गर्छन् । यसका अतिरिक्त बौद्ध गुम्बाहरूमा समेत बोधिचित्तको दाना प्रयोग हुने जनाइएको छ ।

कसैकसैले ब्रासलेट बनाई हातमा लगाउने, बुटीका रूपमा लगाउनेसमेत गरेको पाइन्छ । फागुनमा फूल खेलेर असारको पहिलो सातामा टिप्न हुने बोधिचित्त वर्षमा दुईपटक फल्छ । यो पहिलो लट हो । दोस्रो लट साउनमा फूल खेल्ने र कात्तिकमा टिप्ने गरिन्छ । यो लटमा भने पहिलो लटमा झैं धेरै दाना लाग्दैन

Prabhu Bank AD

सम्बन्धित खवर