वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
नेपाली चियाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा सर्वोत्कृष्ट
Prabhu Bank AD

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेको छ। छिमेकी चीनको ‘चीन चिया मार्केटिङ संघ’ले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्यांकन प्रतिस्पर्धामा नेपाली १० उत्पादक संस्था अवार्ड विजेता भएको हो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालमा उत्पादित १६ वटा चियाको नमुना परीक्षणमा पठाएकोमा १० प्रकारका चिया विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बताएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको बताए। उनले बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनको लागि पहल गरिरहेको समेत बताए। चीनमा नेपाली चियाको अनलाइन विज्ञापन सुरु भइसकेको पनि उनको भनाइ थियो।

भट्टराईले अवार्ड विजेता भएसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको र आर्थिक उन्नतिको लागि महत्त्वपूर्ण मानिने उल्लेख गरे । उनले गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको भन्दै नेपाली चियाको निर्यात वृद्धिले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको बताए।

त्यस्तै, पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले रासायनिक मल तथा विषादी प्रयोग विना अर्ग्यानिक रूपमा चिया उत्पादन गर्नुको प्रतिफल गोल्डेन अवार्ड पाएको बताए। यसले किसानको आयमा वृद्धि गरी मुलुकमा विदेशी मुद्रा आर्जनको लागि महत्त्वपूर्ण भूमिका खेल्न मद्दत पुग्नेसमेत उनको भनाइ थियो।

विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलंका जस्ता देशहरूसँग नेपाली चियाको प्रतिस्पर्धा गराइएको थियो । अवार्ड परिणामस्वरूप आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको निर्यात व्यापार बढाउन सहज हुने विश्वास लिइएको छ।

तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, सांग्रिला गोल्डेन, जीटीई–गोल्डेन चिया, सिल्भर विङ्गस, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड विजेता भएका हुन्।

त्यस्तै, नेपालका झापा, इलाम,पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरूलाई चिया क्षेत्रको रूपमा २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले घोषणा गरेका थिए। आर्थिक वर्ष २०७७–७८ को तथ्यांकअनुसार नेपालमा १६ हजार ९१७ हेक्टर क्षेत्रमा खेती भएर त्यसबाट २३ हजार ७ सय ४५ मेट्रिकटन उत्पादन भइरहेको छ ।

नेपालमा १७ हजार चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आबद्ध रहेको बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७७‍-७८ मा ३ खर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर