काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मलाई स्थगित भएको छ।
बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक अन्तिम समयमा चैत ५ सम्मलाई सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्। बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक विशेष कारण बस्न नसक्ने भएकाले चैत ५ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले बताए। बुधबार बस्ने भनिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची थियो।
सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सबै दलहरुसँगको सल्लाहअनुसार नै बुधबारको बैठक स्थगित भएको जानकारी दिए। राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव र सभामुख विदेश जाने भएकाले सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेरै लामो समय संसद बैठक स्थगितको निर्णय भएको हो, उनले नेपालखबरसँग भने। सभामुखले भेटे राष्ट्रपतिलाई, आईपीयु बैठकबारे जानकारी यसअघि नै सभामुख घिमिरेले मंगलबार दिउँसो शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो विदेश भ्रमणबारे जानकारी गराएका थिए।
राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका थिए। आईपीयुको १४६ औँ बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन जाँदैछन्। आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ।

