काठमाडौँ । शुक्रबार युक्रेनमाथि रुसी आक्रमणको १ वर्ष पुगेको छ । त्यसको पूर्वसन्ध्यामा बिहीबार संयुक्त राष्ट्रसंघको महासभामा ल्याइएको शान्ति प्रस्ताव बहुमतले पारित भएको छ । महासभाले युक्रेनको युद्ध तत्काल अन्त्य गर्न रुसी सेनालाई युक्रेनबाट तत्काल हटाउन आह्वान गरेको छ ।
युक्रेनबाट तत्काल रुसी सेना हटाउनुपर्ने प्रस्तावको पक्षमा नेपालसहित १४१ राष्ट्रले मतदान गरेका थिए । उक्त प्रस्तावको विपक्षमा मतदान गर्ने राष्ट्र भने नगन्य थिए । त्यसमा रुस, बेलारुस, उत्तर कोरिया, माली, इरिट्रिया र निकारागुवा रहेका थिए ।
नेपालका छिमेकी मुलुकहरू चीन र भारतसहितका ३२ देश भने मतदानमा अनुपस्थित रहेका थिए । दक्षिण एसियाली मुलुकमध्ये पाकिस्तान, श्रीलंका र बंगलादेश पनि मतदानमा सहभागी भएनन् । अफगानिस्तान, भुटान र मालदिभ्स भने नेपालसँगै प्रस्तावको पक्षमा उभिए ।
यूएन चार्टरसहित ल्याइएको समग्र, न्यायोचित र स्थायीु शान्ति प्रस्तावमा तत्काल कदम चाल्न भनिएको छ । युक्रेनको सम्प्रभुता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताप्रति प्रस्तावमा प्रतिबद्धता जनाइएको छ ।
गत वर्ष आजकै दिन (फेब्रुअरी २४, २०२२) युक्रेनमाथि रुसी आक्रमण सुरु भएको थिय । त्यसयता राष्ट्रसंघीय महासभा, सुरक्षा परिषद् र मानव अधिकार परिषद्मा विभिन्न प्रस्ताव पारित भएका छन् । तर भारत, चीन लगायतका मुलुक भने उक्त प्रस्तावको मतदानबाट बाहिरै रहेका छन् ।
भारत र चीनले युक्रेन (रुस द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाटै समाधान हुनुपर्ने बताउँदै आएका छन् । गत सेप्टेम्बरमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले भाट्ट शान्ति, वार्ता र कूटनीतिको पक्षमा रहेको बताएका थिए । उनले रुस(युक्रेन संघर्षले ुग्लोबल साउथु क्षेत्र प्रभावित भएको बताएका थिए ।
बीबीसीका अनुसार दोस्रो विश्वयुद्धपछि रुसी आक्रमणमा सबैभन्दा बढी सैनिक संलग्न भएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २ लाखभन्दा बढी सैनिक पठाएको बीबीसीको समाचारमा उल्लेख छ । राष्ट्र संघको अनुमान अनुसार रुसी आक्रमणमा करिब ७ हजार युक्रेनी नागरिक मारिएका छन् ।
युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । क्षतिको स्वतन्त्र पुष्टि भने भएको छैन । गत सेप्टेम्बरमा रुसी रक्षामन्त्री सेर्गेई सोइगुले करिब ६ हजार रुसी सैनिकको मृत्यु भएको बताएका थिए । त्यसयता रुसले क्षतिको कुनै जानकारी गराएको छैन । युक्रेनतर्फ भने डिसेम्बर २ मा राष्ट्रपति जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३ हजारसम्म युक्रेनी सैनिक मारिएको बताएका थिए । उनले वास्तविक तथ्यांक भने राष्ट्रपति जेलेन्स्कीले मात्रै दिन सक्ने बताएका थिए ।
युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा १ लाख सैनिकको मृत्यु भएको हुन सक्ने बताएको छ । सर्वसाधारणतर्फ कति क्षति भयो भन्ने यकिन विवरण स्वतन्त्र तवरले आएको छैन । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयोगले पनि युक्रेनमा १८ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।

