वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
रहस्यमय अवश्थामा महिला हत्यारा प्रकाउ
Prabhu Bank AD

 

विराटनगर । कटहरी–५ का ६२ वर्षीय रमानन्द राम आइतबार मध्यरातमा हस्याङफस्याङ गर्दै शव बोक्ने गाडी खोज्दै कोसी अस्पतालमा पुगे । त्यहाँ रहेका अन्यले अस्पतालमा प्राय लास भइरहन्छन् र शव बोक्ने गाडी खोज्नु सामान्य हो भन्दै रामलाई सहयोग गर्ने प्रयास गरे ।

तर रामको हाउभाउ र हुलिया अस्पतालमा रहेको छिमेकी प्रहरीलाई शंकास्पद लाग्यो । प्रहरीले उनलाई सोधपुछ गर्‍यो । रामले सुनसरीको बर्जुस्थित अमडुवामा आफ्नी नातिनीको मृत्यु भएको र शव बोक्ने गाडी खोजेको बताए ।

विराटनगरदेखि करिब ७ किलोमिटर पश्चिमको अमडुवामा रहेको लास व्यवस्थापन गर्न शव वाहन खोज्न विराटनगर आउनु रहस्यमय भएको शंका गर्दै प्रहरी उनले बताएको ठेगनामा राति नै पुग्यो । प्रहरी अमडुवा पुगेर घरमा सोधपुछ गर्दा नातिनी र बुहारी माइतमा रहेको बताएपछि प्रहरी विराटनगर फर्किएर रामले झुटो बोलेको भन्दै उनलाई नियन्त्रणमा लियो ।

त्यसपछि सोधपुछ गर्दा रामले प्रहरीलाई अर्को घटना बताए । उनले बताए अनुसार प्रहरी मोरङको बुढीगंगा–२ स्थित अमाहीका नरसिंह चौधरीको घरमा राति पुग्यो । प्रहरीले त्यहाँ खोजतलास गर्दा उनको घरको गाईगोठमा बोरामा हालेको अवस्थामा महिलाको लास फेला पर्‍यो ।

बोरामा भेटिएको उक्त लास विराटनगर १९ मिलन चोक कि २८ वर्षीय प्रियंका सुनारको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले वताए । कटहरी–५ बस्ने उनका पति २९ वर्षीय रमेश साहले आइतबार घुम्न जाने भन्दै साँझ प्रियंकालाई मोटरसाइकलमा हालेर रमानन्द र उमेश सरदारसहित चिनजानका बुढीगंगाका नरसिंहको घरमा लगेर हत्या गरेर लास बोरामा हालेर गाईगोठमा राखेर शव व्यवस्थापनको तयारी गर्न शव वाहन खोज्न छिमेकी रमानन्दलाई अस्पताल पठाएका रहेछन् । पोखरेलले भने, ुअस्पतालबाट शव वाहन लिएर जाँदा कसैलाई शंका नहुने ठानेर शव वाहन खोजिएको रहेछ ।ु उक्त शव व्यवस्थापन गर्न त्यसअघि गाडी भाडा नमिलेपछि अस्पतालमा शव वाहनको खोजी गरिएको पाइएको प्रहरीले बताएको छ । घटनामा संलग्न रमानन्द र प्रियंकाका पति रमेशसहित कटहरी ५ का उमेश सरदार विराटनगर ७ का श्रीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न थप एक फरार रहेको प्रहरीले बताएको छ

प्रारम्भिक अनुसन्धानमा पारिवारिक सम्बन्धमा आएको खटपटका कारण नै प्रियंकाको हत्याको कारण देखिएको उल्लेख गर्दै पोखरेलले भने यो घटनामा थप अनुसन्धान भइरहेको छ ।

प्रियंकालाई उनका पति रमेशले परपुरुषसँग लागेको बात लगाउँदै पटकपटक यातना दिने र झगडा गर्दै आएको स्थानीयले बताएका छन् । यो विषयमा पतिपत्नीबीच पटकपटक विवाद हुँदा विगतमा प्रहरीले पनि मिलाउँदै आएको स्थानीयले बताएका छन् । प्रियंकाका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । उनको माइती भारत हो ।

Prabhu Bank AD

सम्बन्धित खवर