वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
कामको ढिलासुस्तीविरुद्ध बोल्दा उपाध्यक्षलाई ठेकेदारको धम्की
Prabhu Bank AD

 

काठमाडौं । लिखु गाउँपालिका वडा नम्बर २ को सिंहदेवीमा आयोजित सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडा र गाउँपालिका अध्यक्ष अशोक कार्की भएकै ठाउँमा ठेकेदार राजन सुवेदीले उपाध्यक्षको अभिव्यक्तिलाई आफूले रेकर्डमा राख्ने भन्दै जे पनि हुनसक्ने चेतावनी दिएका थिए ।

साँघुटार (घोरखोरी सडक कालोपत्रे ठेक्का लागेको ६ वर्षसम्म काम नगर्ने बदनाम ठेकेदारको बारेमा संसदमा आवाज उठाउन सांसदलाई आग्रह गर्दा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापालाई ठेकेदारका स्थानीय प्रतिनिधिले जे पनि हुनसक्ने धम्की दिएका छन् ।  सुवेदीले चेतावनी दिएको भिडिओ अहिले स्थानीय तहमा भाइरल भइरहेको छ । उनीभन्दा अघि गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले ६ वर्षसम्म ओखलढुंगाको विकास अलपत्र पार्ने ठेकेदारको आलोचना गरेकी थिइन् । उनी बोलेर हिँडेपछि सो सडक कालोपत्रे गर्ने ठेकेदार कान्छाराम तामाङको प्रतिनिधि बनेर स्थानीय ठकेदार राजन सुवेदीले उपाध्यक्षलगायत जनप्रतिनिधिहरुलाई होस गर्न चेतावनी दिएका हुन् ।

उपाध्यक्ष थापालाई चेतावनी दिने ठेकेदार प्रतिनिधि राजन सुवेदी ।
भाइरल भिडिओमा उनले भनेका छन्, ‘हामीले ठेक्का गर्दा भर्खर जन्मिँदै गरेका केटीहरु अहिले आएर जनप्रतिनिधि भएका छन् । तिनीहरुलाई के थाहा ठेक्कापट्टाबारे कसैलाई पनि नीति, विचार र सिस्टमभन्दा बाहिर गएर बोल्ने छुट छैन, झन जनप्रतिनिधिलाई त छँदैछैन ।
खबरदार लिखु गाउँपालिकामा फेरि यस्ता कुरा गरियो भने तपाईंको रेकर्ड गरेर राख्छौं, तपाईंको विरुद्ध प्रक्रियामा जान्छौं । हामी छोड्नेवाला छैनौं । जे पायो त्यही बोल्छु, सेलिब्रेटी बन्छु भन्नेहरुले सोचे हुन्छ ।’

सांसदलाई उपाध्यक्षको चुनौति( विकास अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको फोटो निकालेर संसदमा बोल्नुस्

यसैबीच ठेकेदार सुवेदीले गाउँपालिका उपाध्यक्षलाई सार्वजनिक ठाउँमा दिएको महिलाविरुद्धका आपत्तिजनक अभिव्यक्तिलाई छानबिनको दायरामा ल्याउन अखिल नेपाल महिला संघले माग गरेको छ ।

अखिल नेपाल महिला संघकी ओखलढुंगा जिल्ला अध्यक्ष चम्पादेवी राईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सडकको काम अलपत्र पार्ने ठेकेदार र त्यसका सञ्चालकलाई जिम्मेवार बनाउन जनप्रतिनिधिको हैसियतले गरेको प्रश्नको प्रतिवाद गर्दै दिइएको धम्की र गालीगलौज समग्र महिलामाथिको प्रहार भएको बताएकी छन् । उनले महिलामाथिका अपमानजनक र आपराधिक अभिव्यक्ति क्षम्य नहुने चेतावनीसमेत दिएकी छन् ।

त्यस्तै राष्ट्रिय युवा संघ ओखलढुंगाका संयोजक विनोद खत्रीले विज्ञप्ति जारी गर्दै बदनाम ठेकेदारको पक्षमा उभिएर जनप्रतिनिधिलाई धम्की दिने ठेकेदार प्रतिनिधि सुवेदीमाथि प्रशासनिक कारबाहीको माग गरेका छन् ।

नेकपा एमाले लिखु गाउँपालिका वडा नम्बर २ वडा कमिटीका अध्यक्ष शंकरकुमार भण्डारीले पनि सोही वडामा आयोजित कार्यक्रमको औचित्यमाथि समेत प्रश्न उठाउँदै उपाध्यक्षविरुद्ध ठेकेदारले प्रयोग गरेका अपशब्द अपाच्य रहेको चेतावनी दिएका छन् ।

लिखु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष केशवहरि ढुंगेलले जनताको अभिमतबाट निर्वाचित प्रतिनिधिलाई केटी वा फुच्ची भन्नु घोर आपत्तिजनक रहेको भन्दै खेद व्यक्त गरेका छन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर