काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंको माइतीघरमा धर्नारत बाँकेका महिलाहरुलाई छलफलका लागि बोलाएका छन् । गृह मन्त्रालयको समेत जिम्मेवारी लिइरहेका प्रधानमन्त्री दाहालले एकल महिला निर्मला कुर्मी बेपत्ता, अपहरण र हत्या भएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै धर्ना बसेको ४६ दिनपछि माग सम्बोधनका लागि छलफल गर्न समय दिएका हुन् ।
आन्दोलनको नेतृत्व गरिरहेको महिला अधिकारकर्मी रुबी खानले प्रधानमन्त्री दाहालले सोमबार बिहान छलफलका लागि बोलाएको बताइन् । हामी ४६ दिनदेखि न्यायका लागि संघर्ष गरिरहेका छौं । प्रधानमन्त्रीजीले बल्ल हाम्रोबारे थाहा पाउनुभएछ र भेट्ने वातावरण मिलेको छु, उनले भनिन् ।
कुर्मीको न्यायका लागि दुई वर्षदेखि संघर्षरत महिलाहरु अहिले तेस्रो पटक धर्ना बसिरहेका छन् । कुर्मीको नाममा रहेको जग्गा जमिन हत्याउने नाउँमा उनलाई बेपत्ता, शरीर बन्धक बनाई हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी परे पनि प्रहरीले त्यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न आनाकानी गरेपछि उनीहरुको संघर्ष सुरु भएको थियो ।
पहिलो चरणमा बाँकेबाट पैदल हिँडेरै काठमाडौं आएका उनीहरुले मुद्दा दर्ता गरी छानबिन गर्ने सहमतिपछि आन्दोलन स्थगित गरेका थिए । तर सहमतिबमोजिम कारवाही भने भएन । उनीहरुले त्यसलगत्तै फेरि ४३ दिनसम्म काठमाडौं आएर धर्ना दिएपछि मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी )ले प्रवेश पाएको थियो ।
त्यसयता सीआईबीले नै मुद्दामा अनुसन्धान गरिरहेको छ । मुद्दाका आरोपित बादशाह कुर्मीसहित आठ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरे पनि अहिले उनीहरु हाजिरी जमानीमा छुटेका छन् । धर्नारत महिलाहरुले भने मुद्दालाई कम्तीमा अदालतमा पुर्याउनुपर्ने माग गर्दै आएका छन् ।

