काठमाडौं । पोखराका पीडित उद्योग व्यवसायीहरु एवम् पीडित वर्गहरुको संयुक्त संघर्ष समितिले ६ बुँदे मागहरु अगाडि सार्दै माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिने रिले अनसन कार्यक्रमको घोषणा गरेका छन् । उद्योग व्यवसायी तथा पीडित वर्गप्रतिको सरकारको विदेभपूर्ण आर्थिक नीतिविरुद्ध पहिलो चरणको विरोध कार्यक्रम अन्तर्गत तीनदिने रिले अनसन कार्यक्रमको घोषणा गरेका हुन् ।
उनीहरुले बैंकिङ ब्याजदर १ अंकमा ल्याउनुपर्ने, कम्तिमा दुई बर्षलाई स्वेच्छिक किस्ता छनौट गर्न दिनुपर्ने, कालो धनविरुद्ध नोट बन्दी गर्न, व्यवसायिक सुरक्षाका लागि संक्रमणकालीन योजना ल्याउन, स्व.प्रेमप्रसाद आचार्य लगायत व्यवसायीहरुले उठाएका मागको सम्बोधन गर्न र अनुदान रकम पारदर्शी बनाउन माग गरेका छन् ।

लौरो अभियानले सहजीकरण गर्ने कार्यक्रममा पोखराको महेन्द्रपुल पिप्लेदुर्गा, मानवअधिकार चोकमा हुनेछ ।

संयुक्त संघर्ष समितिले रिले अनसनमा सुरक्षा प्रदान गर्न ध्यानाकर्षण समेत गराएको छ । साथै, संघर्ष समितिले पोखराको उद्योग बाणिज्य महासंघलाई पनि कार्यक्रमप्रति ऐक्यबद्धताका लागि पत्रमार्फत् ध्यानाकर्षण गराइएको छ ।

