वि.सं.२०८३ असार २ मंगलवार
Dish Home Long Ad
पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन
Prabhu Bank AD

काठमाडौं । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

अस्पतालका चिकित्सक डा.किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट तत्कालै उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएको थियो ।

आत्मदाहको प्रयास गर्नुअघि उनले फेसबुकमा ‘स्टाटस पोस्ट’ गरेका थिए । विभिन्न व्यवसाय गर्ने सिलसिलामा सरकार, बैंक, व्यापारी, साहु, नेता तथा कर्मचारीबाट ठगिएको र आफूलाई असफल बनाइएको भन्दै उनले राज्य सञ्चालन प्रणालीमाथि कैयन् प्रश्न उठाएका छन् ।

स्वदेशी सुपरमार्केट तथा विदेशी बहुराष्ट्रिय कम्पनीले नेपाली बजार कब्जा गरेको, उनीहरूले आफ्ना विभिन्न उत्पादन उधारोमा लगेर समयमा पैसा नदिएको, एक वर्षसम्म होल्ड गरेर उल्टै सामान नै फिर्ता गरी धोका दिएको आरोप लगाएका छन् । सामान बजारमा फस्ने तथा पैसा नउठ्ने भएपछि बैंकले ऋण दिन छाडेको र चर्को ब्याजदरमा व्यक्तिसँग लिएको ऋणले गाँजेको वित्तान्त लेखेका छन् । यस्ता कम्पनीहरूलाई नियमन गर्न सरकारसँग उनको माग छ ।

ट्राभल व्यवसायमा समेत हात हालेका उनले चिनियाँलगायत विदेशी पर्यटक र काठमाडौंका केही कलेजका विद्यार्थीलाई भ्रमणमा लगेबापतको पैसा विभिन्न बहाना गरेर नदिँदा अप्ठ्यारोमा पर्दै गएको पनि बताएका छन् । साना व्यवसायीलाई दोहोरो–तेहोरो कर लगाएर सरकारले मर्कामा पारेको गुनासो पनि आचार्यको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर