काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले वार्ता समिति बनाएपनि पार्टी एकताका लागि सकारात्मक नतिजा आउन सकेको छैन । माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गरेको छ भने नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता गठन गरेको छ । तर, दुवै तर्फबाट वार्ता टोली गठन भएको दुई हप्ता पुग्दा समेत पार्टी एकता प्रक्रियाले गति लिन नसकेको हो ।
पार्टी एकता प्रक्रियाका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र नेसपाका अध्यक्ष बाबुराम भट्टराई समेत हतारमा देखिन्छन् । प्रचण्ड–बाबुरामसहितका कतिपय नेताहरू पार्टी एकता गरेर तत्काल टुङ्गो लगाउने पक्षमा पुगिसकेका छन् । तर, वार्ता समितिले अहिलेसम्म परिणाम देखिने गरी नतिजा निकाल्न नसकेको हो ।
तर, माओवादी केन्द्रका उपमहासचिव एवम् वार्ता टोलीका सदस्य शक्तिबहादुर बस्नेत भने बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसहित अरू पार्टीसँग पनि पार्टी एकताका विषयमा छलफल गर्न लागिएको बताउँछन् । वार्ता टोलीका संयोजक महरा केही दिन उपत्यका बाहिर व्यस्त भएकाले खासै छलफल हुन नसकेको उनको भनाइ छ ।
नेपाल समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष महेन्द्रराय यादवले भने माओवादीसँग पार्टी एकता गर्न तयार भए पनि केही प्राविधिक पक्ष मिलाउनु पर्ने भएकाले ढिलाइ भएको प्रक्रिया दिए ।
विगतको पार्टी एकताको समीक्षा गर्दै सबै नेता कार्यकर्तालाई समेट्नुपर्ने बाध्यता भएकाले एकता गर्न ढिलाई भएको यादवले बताए । अब माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्न महिना दिन भन्दा बढी नलाग्ने यादवको दाबी छ ।
बाबुरामले कम्युनिस्ट नाम नराखेर समाजवादी केन्द्र वा समाजवादी मात्रै राखेर पार्टी बनाउनु पर्ने धारणा राख्दै आएका छन् । त्यसो भएमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग एकता गर्न सहज हुने बाबुरामको बुझाई छ । यस्तै हँसिया हथौडा चुनाव चिन्ह जनताले नरुचाएकाले अरू कुनै राख्नुपर्ने बाबुरामको मत छ । तर, माओवादी नेताहरू समाजवादी केन्द्र बनाएपनि नेकपा छोड्न नहुने अडानमा छन् । चुनाव चिह्न फेर्ने विषयमा भने माओवादी नेताहरू लचक देखिएका छन् । पार्टीको नाम र चुनाव चिन्हमा केन्द्रित भई छलफल नभएकाले कुनै टुङ्गो लागेको छैन । तर, पार्टी एकता गर्ने समझदारी भइसकेकाले पार्टीको नाम र चुनाव चिन्हले समस्या नआउने दुवैतर्फका नेताहरूले बताउने गरेका छन् ।
तत्काल माओवादी केन्द्र र नेसपाबीच एकता गरेपछि जसपा, एकीकृत समाजवादी, आमजनता पार्टी लगायत पार्टीसँग छलफल गर्ने तयारी गरिएको छ । तत्काल एमाले बाहेकका पार्टीलाई एकताबद्ध गरेर प्रधानमन्त्री प्रचण्ड शक्तिमा रहने रणनीतिमा छन् । एमालेबाहेकका पार्टीलाई एकताबद्ध गर्न सकेमा सरकार सञ्चालन र चुनावी मोर्चा बनाउन सहज हुने प्रचण्डको बुझाई छ । प्रचण्ड प्रधानमन्त्री भएपछि जसपा र एकीकृत समाजवादी पहिलेको तुलनामा टाढिएका छन् । यद्यपि उनीहरू समेत तुलनात्मक रूपमा एमाले भन्दा माओवादी केन्द्रसँगै नजिक देखिने गरेका छन् ।

