वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
यसरी ब्राजिलको संसद् भवनमा हजारौं जना छिरेर आक्रमण
Prabhu Bank AD

 

काठमाडौँ । दक्षिणपन्थी नेता जैर बोल्सोनारोका हजारौं समर्थकले आइतबार ब्राजिलको संसदमा आक्रमण गरेका छन्। जनताले सर्वोच्च अदालत र राष्ट्रपति निवासलाई समेत घेरा हालेका छन्।ब्राजिलको फुटबल टिमको जर्सी लगाएका हजारौं प्रदर्शनकारी हातमा झण्डा लिएर संसदमा प्रवेश गरेका थिए। केही व्यक्तिहरू स्पिकरको मञ्चमा चढेर प्रदर्शन गरिरहेका देखिए।

 

भिषण झडपपछि प्रहरीले आइतबार साँझसम्म राजधानी ब्रासिलियाका महत्वपूर्ण भवनहरू आफ्नो नियन्त्रणमा लिएको थियो। राष्ट्रपति लुला दा सिल्भाले यसलाई ‘फासिस्ट आक्रमण’ भनेका छन्।

ब्राजिलमा आइतबार भएको हिंसापछि २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल भवनमा भएको यस्तै झडपको सम्झना जनताको मनमा ताजा भएको छ। त्यसबेला डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गरेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत धेरै ठूला व्यक्तित्वले हिंसाको निन्दा गरेका छन्।

गत हप्ता मात्रै ब्राजिलको राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका लुला दा सिल्भाले पूर्वराष्ट्रपतिका समर्थकहरुलाई कडा कारबाही गर्ने वाचा गरेका छन्।

यसअघि लुला दा सिल्भाले ट्विट गर्दै भनेका थिए, ‘हामी सरकार गठनमा व्यस्त छौं र आइतबार उनीहरूले हाम्रो मौनताको फाइदा उठाए र तपाईंलाई थाहा छ पूर्व राष्ट्रपतिका धेरै भाषणले यसो गर्न उक्साउँछ। यो उहाँको पार्टी र उहाँको जिम्मेवारी हो।’

ब्राजिलका न्यायमन्त्री फ्लाभियो डिनोले स्थानीय मिडियासँग अहिलेसम्म दुई सय जनालाई पक्राउ गरिएको बताएका छन्।

बोल्सोनारोले गत वर्ष अक्टोबरमा भएको निर्वाचनको नतिजा स्वीकार गर्न निरन्तर अस्वीकार गरिरहेका छन्। उनी गत हप्ता लुला दा सिल्भाको सपथ ग्रहण समारोहमा पनि सहभागी भएनन्।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय