वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
रवीन्द्र मिश्र उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्दै
Prabhu Bank AD

काठमाडौँ।अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन् । राप्रपा र मिश्र निकट स्रोतहरुले उपाध्यक्षमा सहमति भइसकेको जनाएका छन् ।
राप्रपामा प्रवेशका लागि लामो समयदेखि संवादमा रहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।
राप्रपा महामन्त्री भुवन पाठकले मिश्र प्रवेशको घोषणा एक/दुई दिनमै हुने बताए । ‘एक/दुई दिनभित्रै यस विषयमा औपचारिक घोषणा हुनेछ,’ महामन्त्री पाठकले भने । मिश्रलाई राप्रपाले काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने छ । मिश्रले असोजको पहिलो साता उम्मेदवारी औपचारिकरुपमा घोषणा हुने बताएका छन् । ‘असोजको पहिलो साता उम्मेदवारी घोषणा हुनेछ,’ मिश्रले भने । संविधान दिवसको दिन मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक हुँदैछ । तर त्यसमा संविधानको मुख्य विशेषता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमाथि प्रश्न उठाइएको छ ।

२०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए ।

यसपटक काठमाडौं-१ बाट विवेकशील साझाका पूर्वनेता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । स्थानीय तहको निर्वाचन पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै उनले राजीनामा दिएका थिए । संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुन:स्थापनाको पक्षमा खुलेका छन् ।
मिश्रले प्रकाशोन्मुख पुस्तक ‘विचार भन्दा माथि देश’ मा नेपालको भूराजनीतिक संवेदनशीलताको कारण राजतन्त्र पुन:स्थापना हुनुपर्ने बताएका छन् । मिश्रले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् ।
यसपटक चुनावमा मिश्रले नेकपा एमालेको समर्थन जुटाउन खोजेका छन् । भदौको पहिलो साता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यसपछि कान्तिपुरसँग कुरा गर्दै मिश्रले एमालेले चुनावमा समर्थन गर्ने विश्वास लिएको प्रतिक्रिया दिएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर