दक्षिण कोरिया ।दक्षिण कोरियाको राजधानी सोलभन्दा १ सय ५ किलोमिटर दक्षिणमा पर्ने छुङछनबुक्दोको जिनछनमा रहेको प्लास्टिक कम्पनीमा काम गर्ने नेपालीले आफ्नै सहकर्मीलाई धारिलो छुरा प्रहार गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । मंगलबार राति भएको उक्त घटनाका आरोपित यूवालाई प्रहरीले पक्राउ गरेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका नुवाकोटका प्रकाश विकको हत्या भएको हो । ६ महिनाअघि मात्र कोरिया आएका उनकै कम्पनीमा काम गर्ने पाँचथरका राजेश बुढाथोकीले उनको हत्या गरेको खुलासा भएको हो । राजेश तीन हप्ताअघि मात्रै कोरिया आएका थिए ।
‘उनीहरू कम्पनीकै खिसुक्साको एउटै कोठामा बस्थे । यसअघि कुनै झगडा भएको थाहा भएन,’ घटना भएको कम्पनीमा ९ वर्ष देखि काम गर्दै आएका गोविन्द अघिकारीले भने । ‘हिजो राति एक्कासी यस्तो घटना भयो हामी पनि आश्चार्यमा छौं । घटना भएकै खिसुक्सा (होस्टेल)मा बस्ने गरेका कृष्ण आलेले मंगलबार राति साढे ११ बजे ठूलो स्वर सुनेर कोठा बाहिर निस्कँदा प्रकाश भुइँमा लडिरहेको बताए ।
‘हामी सबैले ८ बजेसम्म सँगै काम गरेका थियौं । म १० बजेतिर नुहाएर बाहिर निस्कँदा भाइहरूको कोठाको बत्ती निभेको थियो । मैले सुतिसकेछन् भनेर आफ्नो कोठामा ढोको लगाएर घरतिर कुरा गर्दै थिएँ । एक्कासी ठूलो स्वरमा केही खसे जस्तो सुनियो । म बाहिर निस्केर हेर्दा ऊ लडिरहेको थियो । त्यसपछि हामीले प्रहरीलाई खबर गर्यौं ।’
प्रहरी आएर हेर्दा प्रकाशको मृत्यु भइसकेको थियो । आरोपित बुढाथोकी भने कोठामै बसेको र उनको पनि घाँटीमा घाउ रहेको प्रहरीले बताएको छ । अहिले उनको उपचार भइरहेको र थप अनुसन्धानपछि मात्रै घटनाको बारेमा विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ ।
सोलमा रहेको नेपाली राजदूतावासले घटनाबारे अनौपचारिक रुपमा जानकारी भए पनि कोरियाली प्रहारी मार्फत् आधिकारिक जानकारी भने अझै नआएको जनाएको छ । ‘गम्भीर खालको घटनामा अनुसन्धान गर्न केही समय लाग्ने भएकोले पनि उनीहरुले जानकारी नगराएको हुनसक्छ,’ सोलस्थित कार्यवाहक राजदूत रामसिंह थापाले भने ।
‘कोरियामा भएको आपराधिक घटनाको कोरियाली कानुन अनुसार नै कारबाही हुन्छ । अन्य विषयमा कोरियाली प्रहरीले हामीलाई जे जानकारी दिन्छ त्यसपछि मात्रै भन्न सकिन्छ,’ उनले भने ।
सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कोरियामा आउन थालेका हुन् । यसअघि नेपाली कामदार कुनै गम्भीर खालका अभियोगमा कारागार पुगेका छैनन् ।

